काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले शनिबार बलपूर्वक हटाएको छ।
हिंसापीडितका रूपमा न्यायको माग गर्दै लामो समयदेखि आवाज उठाउँदै आएकी ‘कुमारी आमा’का नामले परिचित निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले लछारपछार गर्दै गेटबाट हटाएको हो।
उनीहरू गृहमन्त्रीसँग प्रत्यक्ष भेट गरी आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै पछिल्ला पाँच दिनदेखि निरन्तर सिंहदरबारको दक्षिण गेटमा धर्ना दिँदै आएका छन्।
प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई हटाउने कार्य हरेक दिनजसो दोहोरिँदै आएको छ।





