काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा ठूला दलका कार्यकर्ताको संलग्नता पनि खुल्दै गएको छ । भदौ २४ को विध्वशंमा यसअघि माओवादी, रास्वपा, राप्रपा, राजावादीको प्रत्यक्ष संलग्नता देखिएको थियो । तर काठमाडौंसहित देशका विभिन्न दलका नेताका घरमा एमाले र कांग्रेसका कार्यकर्ताको पनि संलग्नता देखिएको छ ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको घर जलाएको आरोपमा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता सोनम थेबे पक्राउ परेका छन् । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बाराही बस्ने थेबे आइतबार पक्राउ परेका हुन् ।

चक्रपथ,महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेबे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । उनले धुम्बाराही क्षेत्रका व्यवसायीहरुलाई धाकधम्की दिएर रकम असुल गर्दै आएका थिए ।

गुण्डागर्दी,मीटर ब्याज र दक्षिण कोरिया पठाइदिने भन्दै पैसा असुलेको आरोप लागेका थेबेलाई यसअघि पनि खोजी गर्दा एमालेका नेताहरुले नपक्रिन प्रहरीलाई पटकपटक फोन गरेका थिए ।

उनी गुण्डा नाइके चक्रे मिलन समूहका हुन् । गुण्डागर्दीमा सलंग्न थेबे पटके गुण्डासमेत हुन् । गुण्डागर्दी,मीटर ब्याज र दक्षिण कोरिया पठाइदिने भन्दै पैसा असुलेको आरोप लागेका थेबेलाई यसअघि पनि खोजी गर्दा एमालेका नेताहरुले नपक्रिन प्रहरीलाई पटकपटक फोन गरेका थिए । प्रहरीले यसअघि काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय सहारा सुब्बा थेबेलाई पक्राउ गरेको थियो ।

वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै एक करोड आठ लाख ३० हजार ठगी गरेको अभियोगमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ भदौ २०८२ मा पक्राउ गरेको थियो ।

हालैको एक अन्तर्वार्तामा कांग्रेस महामन्त्री गगन थापाले आफ्नो घर जलाउनेमा एमालेका नेता र रास्वपाका कार्यकर्ताको संलग्नता रहेको सार्वजनिक गरेका छन् । कान्तिपुर टेलिभिजनको फायर साइडमा नेता थापाले आफ्नो घरमा एमाले अध्यक्ष केपी ओलीसँगै बसउठ भएका नेताले आगजनी गरेको खुलाएका हुन् ।

यस्तै, कांग्रेस नेता शशांक कोइरालालगायतको घरमा आगजनी गर्ने पनि एमाले कार्यकर्ता रहेको सार्वजनिक भएको छ । एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको घरमा एमाले जिन्दावाद भन्दै नाराबाजी गर्ने कार्यकर्ताले आगो लगाएका थिए । भक्तपुरको बालकोटस्थित एमाले नेता गोकुल बास्कोटाको घरमा आगजनी गर्ने दोलखा कांग्रेस कार्यकर्ताले नेतृत्व गरेको उनले सार्वजनिक गरेका छन् । देशभरका यस्ता घटनाले भदौ २४ को विध्वंशमा सबै सामेल भएको पुष्टि हुँदै गएको छ ।