काठमाडौँ। मोरोक्कोको दक्षिणी शहर लेक्लिया (राजधानी राबातदेखि करिब ५०० किलोमिटर दक्षिण) मा भएको सरकारविरोधी प्रदर्शन प्राणघातक बनेको छ। प्रहरीको गोली प्रहारमा दुई जनाको मृत्यु भएको छ। प्रहरीले ती व्यक्तिहरू आफूमाथि आक्रमण गरी हतियार खोस्ने प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाएको दाबी गरेको छ। तर, स्वतन्त्र स्रोतबाट घटनाको पुष्टि हुन सकेको छैन। 

यी आन्दोलनहरू Gen Z 212 नामक युवा, इन्टरनेट–सजग समूहले सुरु गरेको हो। प्रायः किशोरकिशोरी र युवा सहभागी रहेका प्रदर्शनकारीले विद्यालय र अस्पतालको कमजोर अवस्था, सरकारी भ्रष्टाचारप्रति आक्रोश पोखिरहेका छन्। उनीहरूले यसलाई २०३० विश्वकप तयारीमा खर्च भएको अर्बौं डलरसँग तुलना गर्दै “स्वास्थ्य, शिक्षा र मर्यादापूर्ण जीवनको अधिकार खोक्रो नारा होइन, गम्भीर माग हो” भन्दै शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका छन्।

तर चेतावनीलाई  बेवास्ता गर्दै हिंसा अन्य शहरसम्म फैलिएको छ। राजधानी राबातको छेउमा रहेको साले शहरमा मुखौटा लगाएका युवाहरूले गाडी, बैंक र पसलमा आगजनी गरेका छन्। पसलहरू लुटिएका छन् भने प्रहरी खासै उपस्थित थिएनन्। इनजगाने, ऐत अमिरा र ओज्दा जस्ता शहरमा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दै प्रहरीसँग झडप गरेका भिडियो सार्वजनिक भएका छन्। ओज्दामा त एउटा प्रहरी सवारीले एक प्रदर्शनकारीलाई ठक्कर दिँदा घाइते भएको पुष्टि भएको छ।

ADVERTISEMENT

मोरोक्कोको गृह मन्त्रालयले अनुमति बिना भएका प्रदर्शनलाई कडा रूपमा नियन्त्रण गर्ने चेतावनी दिएको छ। अहिलेसम्म ४०९ जना पक्राउ परेका छन्, जसमा नाबालक पनि रहेका छन्। २६३ जना प्रहरी घाइते भएका छन् भने १४२ वटा प्रहरी सवारी, २० वटा निजी गाडी क्षतिग्रस्त भएका छन्। २३ जना सर्वसाधारण पनि घाइते भएका छन्। मानवअधिकार समूहहरूले भने सरकारले युवाको जायज सामाजिक,आर्थिक मागलाई सम्बोधन गर्नुपर्ने माग गरेका छन्।

ADVERTISEMENT

यो आन्दोलन टिकटक र डिस्कोर्डजस्ता सामाजिक सञ्जालमार्फत फैलिएको छ। यसलाई फुटबलर यासिन बोनु र र्यापर एल ग्रान्डे टोटो जस्ता चर्चित हस्तीहरूले समर्थन गरेका छन्। सन् २०२६ मा संसदीय निर्वाचन र अफ्रिका कप अफ नेसन्सको तयारी भइरहेका बेला भएको यो आन्दोलनले मोरोक्कोको गहिरो असमानतालाई उजागर गरेको छ।

ADVERTISEMENT

अधिकारीहरूले भने वर्तमान खर्चलाई उचित ठहर गर्दै आगामी संसदीय छलफलमा स्वास्थ्य र अस्पताल सुधारबारे बहस गर्ने आश्वासन दिएका छन्। तर, जनसाधारणमा राज्यले उपेक्षा गरेको अनुभूति गहिरिँदै गएको छ।