काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्न सक्ने भन्दै सरकारले कात्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ ।
गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा रोक्न अनुरोध गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीलाई उद्धृत गर्दै विभागले सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रीलाई सचेत गराएको छ ।
विभागका निर्देशक सूर्यप्रसाद चापागाईँले जारी गरेको सूचनाअनुसार कात्तिक १२ देखि १४ गतेसम्म पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान आग्रह गरिएको छ । पदयात्रामा निस्किसकेका पर्यटकलाई पनि उक्त अवधिभर सुरक्षित स्थानमै बस्न भनिएको छ ।
प्रतिकूल मौसमलाई ध्यानमा राख्दै विभागले उच्च पहाडी तथा हिमाली भेगका निषेधित क्षेत्रमा जान आवश्यक पर्ने पदयात्रा अनुमति पनि मंगलबारदेखि उक्त तीन दिनका लागि जारी नगर्ने निर्णय गरेको छ ।
विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, गाइड तथा अन्य सरोकारवालालाई मौसमको जोखिमलाई ध्यानमा राखी सूचनाको पूर्ण पालना गर्न र सुरक्षित रहन आग्रह गरेको छ ।








