काठमाडौँ, नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) सँगको विस्तारित ऋण सुविधा (ECF) कार्यक्रमअन्तर्गत छैठौँ समीक्षा सफलतापूर्वक सम्पन्न गरेको छ । यो समीक्षा आइएमएफको बोर्ड बैठकले औपचारिक रूपमा अनुमोदन गरेको हो ।
समीक्षा सम्पन्न भएको जानकारी हालै नियुक्त भएका अर्थमन्त्री रामेश्वर खनालले आफ्नो आधिकारिक फेसबुक पोस्टमार्फत सार्वजनिक गरेका छन् । अर्थमन्त्रीले यसलाई नेपालको अर्थतन्त्रप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वासको प्रतीकका रूपमा लिएको बुझिएको छ ।
अर्थविद्हरूका अनुसार, समीक्षा पारित भएसँगै नेपालले सुधारका लागि अपनाइएका नीतिहरू र आर्थिक स्थायित्वमा केन्द्रित कदमहरूलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गरेको छ । यसले आगामी दिनमा आवश्यक वित्तीय सहयोग तथा नीतिगत मार्गदर्शन सहज बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
आइएमएफ बोर्डको अनुमोदनले नेपालको समष्टिगत अर्थतन्त्रको सुदृढीकरण, वित्तीय क्षेत्रको पारदर्शिता तथा संरचनागत सुधारमा जोड दिनेछ । साथै, यसले अन्तर्राष्ट्रिय लगानीकर्तामाझ पनि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ ।
नेपालले आइएमएफसँगको विस्तारित ऋण सुविधा (ECF) कार्यक्रमअन्तर्गत आर्थिक स्थायित्व कायम राख्ने, राजस्व नीतिमा सुधार गर्ने, सार्वजनिक वित्त व्यवस्थापनलाई सबल बनाउने र वित्तीय क्षेत्रमा पारदर्शिता बढाउने प्रतिबद्धता जनाउदै आएको छ ।






