काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । गत आइतबार राति प्रहरीसँगको झडपमा गोली लागेर घाइते भएका थप एक युवकको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ ।
विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो । मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार चिकित्सकले मेहतालाई दिउँसो १ः२४ बजे मृत घोषणा गरेका थिए ।
दुई समुदायबिचको तनाव बढेपछि अहिले मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषासम्मको स्थिति तनावग्रस्त बनेको छ ।
धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको हो । जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी आदेशअनुसार आज बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा आज साउन १४ गते दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यु लगाइएको हो ।
आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम तोकिएका क्षेत्रमा कसैले आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा तथा धर्ना गर्न नपाउने उल्लेख गरिएको छ । प्रशासनले आदेशको उल्लङ्घन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
सिरहामा यसअघि नै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ । जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदंगा भई शान्ति भंग हुन जाने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यु लगाइएको हो।
प्रहरी र स्थानीयबीच भएको सो झडपमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए । अहिले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





