काठमाडौं, ललितपुर बालकुमारी निवासी लिजा अधिकारी भदौ २३ गते आफ्नै उमेरका युवाहरूले भ्रष्टाचारविरुद्ध सडकमा आवाज बुलन्द गरेको देखेर घरमा बसिरहन सकिनन्। आमालाई अफिसको काम देखाएर उनी माइतीघरबाट सुरु भएको आन्दोलनमा मिसिइन्।
“हामी भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्दै थियौं, जेनजीका माग सरकारलाई सुनाउन चाहन्थ्यौं,” अस्पतालको शय्याबाट लिजाले भनिन्, “हाम्रो शान्तिपूर्ण जुलुसमा आक्रमण भएपछि भीड आक्रोशित भयो।”
माइतीघरबाट संसद् भवनतर्फ अघि बढेको जुलुसमा सुरुमा कुनै हतियार थिएन, विशेष माग पनि थिएन। युवाहरू केवल आफ्नो आवाज सरकारसम्म पुर्याउन चाहन्थे। तर जब प्रहरीले हस्तक्षेप गर्न थाल्यो, अवस्था बिग्रियो।
“हामी नयाँबानेश्वर पुग्दासम्म आन्दोलन शान्तिपूर्ण थियो, तर जब मेरो आँखै अगाडि एक जनाको टाउकोमा गम्भीर चोट लाग्यो र एक जना दाईको हातमा गोली लाग्यो, त्यसले हामीलाई आक्रोशित बनायो,” लिजाले सम्झिइन्।
आमाको फोनपछि गोली
लिजाले डेराबाट निस्कनुअघि आमालाई आन्दोलनमा जाने कुरा भनेकी थिइन्, तर आमाले मनाही गरेपछि अफिस जाने बहाना बनाएकी थिइन्।
“आमालाई म आन्दोलनमा मिसिएको थाहा थिएन। जब आन्दोलनमा प्लास्टिकको गोली चल्यो भन्ने सुन्नुभयो, उहाँले फोन गरेर छिटो घर फर्कन भन्नुभयो। आमालाई ‘म ठीक छु, छिट्टै आउँछु’ भन्दै फोन राख्नेबित्तिकै मलाई गोली लाग्यो,” उनले भनिन्।
अस्पतालको अवस्था
लिजालाई बाँया कुममा मेटलको गोली लागेको थियो। दाहिने हातले आफूलाई सम्हाल्दै उनी रक्तामय शरीर लिएर संसद् भवनको अगाडि उभिइरहिन्। पछि एक जनाले झण्डाले हात बाँधिदिए र अर्को व्यक्तिले बाइकमा एभरेष्ट अस्पताल पुर्याए।
त्यसदिन ट्रमा सेन्टरमा १८१ जना घाइतेलाई ल्याइएको थियो। घाइतेहरूका लागि शय्या नपुगेर भुइँमै म्याटमाथि उपचार गर्नुपर्ने अवस्था थियो।
“म सुतिरहेको ठाउँमाथिबाट जब आन्दोलनकारीको शव लगियो, मलाई लाग्यो कि मेरो पालो पनि यसरी नै त आउने होइन,” लिजाले भनिन्।
सरकारलाई चुनौती
लिजाका अनुसार उनको कुमको हड्डी गोलीले पूरै टुक्राएको छ र चिकित्सकले तारले बाँधिदिएका छन्। अझै ठूलो शल्यक्रिया गर्न बाँकी छ।
प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू र जेनजी आन्दोलनका प्रतिनिधिहरूले उनलाई भेट्न आइरहेका छन्।
“हामीले अस्पतालको शय्याबाटै उहाँहरूको जिम्मेवारीलाई स्मरण गराइरहेका छौं। छ महिनाको सरकार भए पनि केही सकारात्मक कामको सुरुआतका लागि यो पर्याप्त समय पनि हो,” लिजाले भनिन्।
लिजाका मागहरू
- जेनजीका क्षमतावान् र सक्षम व्यक्तिलाई सरकारमा लैजानुपर्छ
- भ्रष्टाचारसँग जोडिएका मुद्दाका फाइल खोलेर अनुसन्धानको थालनी हुनुपर्छ
- निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारवाही गर्नुपर्छ
- मुलुकलाई सुशासनको दिशामा अघि बढाउनुपर्छ
व्यक्तिगत पृष्ठभूमि
मोरङ रतुवामाई स्थायी घर भएकी लिजा आमा र भाइसँग बालकुमारीमा बस्दै आएकी छिन्। जेठी सन्तानको रूपमा उनीमाथि पढ्दै कमाउँदै गर्ने जिम्मेवारी छ। कुसुम कलेजमा बिबिए सातौं सेमेस्टरमा अध्ययनरत लिजा आन्दोलन हुने दिनभन्दा चार दिन अघि मात्र जेनजी समूहमा जोडिएकी थिइन्।
“हामीलाई सडकमा आउन बाध्य बनाएको चरम भ्रष्टाचार, बेथिती र अपारदर्शीताले हो। हामीले सडकमा दिएको बलिदानले न्याय पाउनुपर्छ,” उनको अडान छ।












