काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार साँझ राजीनामा दिने भएका छन् । उनले दिउँसो २ बजे मन्त्रीपरिषद् बैठक राखेर त्यसपछि पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गर्ने तयारी गरेका थिए ।
तर, मन्त्रीपरिषद् बैठक बस्न असम्भव भएपछि उनले पत्रकार सम्मेलनमार्फत राजीनामा दिन लागेका हुन् । कांग्रेस प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि लामा राजीनामा दिने अवस्थामा पुगेका हुन् ।
शनिबार पार्टी सभापति शेरबहादुर देउवाले मार्ग प्रशस्त गर्न निर्देशन दिएपछि उनी आजै प्रदेश राजधानी हेटौंडा पुगेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा हेटौंडा फर्किएपछि मुख्यमन्त्री लामाले राजीनामा बुझाउने तयारी छ । देवकोटा समयमै नफर्किए राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
बागमती प्रदेशको नयाँ मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता बानियाँ हुने निश्चित जस्तै छ ।







