काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सोमबार अमेरिकी राजदूत र एडिबी क्षेत्रीय निर्देशकसँग भेटवार्ता गरेका छन् । घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि अर्थमन्त्री विदेशी कूटनीति र दातृनिकायका प्रतिनिधिसँग भेटघाटमा व्यस्त छन् ।

अर्थमन्त्री खनालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेट गरेका छन् । भेटघाटका लागि राजूत थम्पसन बिहान सवा १० बजे सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पौने ११ बजे बाहिरिएका थिए । उनीहरुबीच भएको कुराकानीबारे मन्त्रालय र दूतावास दुबै पक्षबाट थप जानकारी दिइएको छैन ।

यस्तै, अर्थमन्त्री खनाल र एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक आर्नो कोस्वाबीच नेपालमा राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्ने प्रभाव र सहयोग कार्यक्रमको निरन्तरताका विषयमा छलफल भएको छ।

ADVERTISEMENT

अर्थमन्त्री खनालले प्रतिनिधिसभा निर्वाचन तोकिएको समयमा सम्पन्न गर्ने र युवाको चाहना अनुसार सुशासन र स्वदेशमै रोजगारी सिर्जना गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्। उनले ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी तथा विभिन्न विकास आयोजनामा एडीबीको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै चालु आयोजना निरन्तरता दिने आश्वासन दिएका छन्।

ADVERTISEMENT

एडीबीका देशीय निर्देशक कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्। छलफलमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा समेत उपस्थित थिए।

ADVERTISEMENT