काठमाडौँ। तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण आयोजनाको समष्टिगत भौतिक प्रगति ४५ प्रतिशत नाघेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हालसम्म भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको छ।

आयोजना अन्तर्गत महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा निर्माण गरिने सातवटा सुरुङमध्ये पाँचवटा सुरुङ हाल निर्माणाधीन रहेका छन्। हालसम्म मकवानपुरको धेद्रे र लेनडाँडामा दुईतर्फी गरी चारवटा सुरुङको ‘ब्रेक–थ्रु’ सम्पन्न भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ।

ADVERTISEMENT

नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी मिलन कार्कीका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म थप दुई जोडी सुरुङ ब्रेक–थ्रु हुनेगरी काम तीव्र रूपमा अघि बढाइएको छ। ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको छ।

ADVERTISEMENT

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्व–पश्चिम राजमार्गमा जोडिने कुल ७०.९७७ किलोमिटर लामो उक्त द्रुतमार्ग पहाडी क्षेत्रमा २५ मिटर र तराई क्षेत्रमा २७ मिटर चौडाइको हुनेछ। आयोजना अन्तर्गत ललितपुरमा नौ किलोमिटर, काठमाडौंमा ४.६ किलोमिटर, मकवानपुरमा ४९.७ किलोमिटर र बारामा ७.६ किलोमिटर सडक निर्माण हुने जानकारी दिइएको छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार द्रुतमार्गमा साना तथा ठूला गरी ८९ वटा पुल निर्माण गरिनेछ। हालसम्म ८२ मिटरसम्म उचाइ भएका विशेष प्रकृतिका पुलसहित १३ स्थानमा पुल निर्माण सम्पन्न भइसकेको छ भने ८५ स्थानका पुलको ठेक्का व्यवस्थापन भई निर्माण कार्य अघि बढिरहेको छ।

ADVERTISEMENT

 

आयोजना कार्यदलका अनुसार बाँकी चार स्थानका पुल निर्माणमा जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म थप १५ स्थानमा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसैगरी आयोजनाअन्तर्गत ११ किलोमिटर सडकको सब–बेस निर्माण सम्पन्न भइसकेको छ भने सर्भिस लेनसहित पाँच किलोमिटर सडक कालोपत्र गरिएको छ।

राजधानी काठमाडौँलाई छोटो दूरीमा तराईसँग जोड्ने एसियन हाइवे स्ट्याण्डर्डको रणनीतिक महत्व बोकेको यो आयोजना देशकै पहिलो द्रुतमार्ग हो। फास्ट ट्र्याक निर्माणको प्रारम्भिक अनुमानित लागत दुई खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। आयोजना २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको नेपाली सेनाले जनाएको छ।

आयोजना सम्पन्न भएपछि काठमाडौँबाट मध्य तराई करिब एक घण्टामा पुग्न सकिने अपेक्षा गरिएको छ।