काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगन थापा पक्षबीच पार्टीको आधिकारिकता, नेतृत्व र महाधिवेशनको विषयमा सहमति जुट्न नसक्दा दुवै पक्ष समानान्तर गतिविधिमा सक्रिय भएका छन् ।

देउवा पक्षले काठमाडौंको चुनदेवीमा छुट्टै कार्यालय स्थापना गरी १५औँ नियमित महाधिवेशनको तयारी गरिरहेको छ । अर्कोतर्फ, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले सानेपास्थित पार्टी कार्यालयबाट गतिविधि सञ्चालन गर्दै देउवा पक्षका नेताहरूमाथि अनुशासनात्मक कारबाहीको विषय अघि बढाएको छ ।

ADVERTISEMENT

गगन पक्षले पार्टीको नाम, चारतारे झण्डा र रूख चुनाव चिह्न प्रयोग गरेर समानान्तर गतिविधि सञ्चालन गरिएको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोगसँग आग्रह गर्ने तयारी गरेको छ । पार्टीको आधिकारिक पहिचान र चुनाव चिह्नको दुरुपयोग रोक्नुपर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा समेत पेस भएको छ ।

ADVERTISEMENT

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि सुरु भएको विवाद नियमित महाधिवेशनको तयारीसँगै झन् गहिरिएको हो । दुवै पक्षले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गर्दै आएका छन् ।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेको छ । नेपाल दलित संघकी अध्यक्ष यमुना खड्का विश्वकर्माले पार्टीमा दुईवटा कांग्रेस रहेको भन्ने दाबी अस्वीकार गर्दै देउवा नै निर्वाचित सभापति भएको बताइन् ।

उनका अनुसार पार्टीको विधानअनुसार देउवाकै नेतृत्वमा नियमित महाधिवेशन हुनुपर्ने भएकाले त्यसको तयारी तल्लो तहबाटै अघि बढाइएको छ । धेरै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र गण्डकी तथा लुम्बिनी प्रदेशको अधिवेशनसमेत सकिएको उनले जानकारी दिइन् ।

पार्टीभित्र कारबाहीको विषय उठाइएकोप्रति असन्तुष्टि जनाउँदै विश्वकर्माले दुवै पक्ष कांग्रेस भएकाले एकअर्कालाई कारबाही गर्नुको औचित्य नरहेको बताइन् । दुवै पक्षले पार्टीको चारतारे झण्डा र रूख चुनाव चिह्न प्रयोग गरिरहेको अवस्थामा कसलाई कारबाही गर्ने भन्ने उनको प्रश्न छ ।

त्यस्तै, १५औँ नियमित महाधिवेशनको तयारीमा रहेका नेता तीर्थ गौतमले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई आफ्नो पक्षले मान्यता नदिने बताए । पार्टीका विभिन्न समूहले छुट्टाछुट्टै महाधिवेशन गर्दै जाने हो भने संगठन कमजोर हुने उनको तर्क छ ।

गौतमले दुवै पक्षले एकअर्कालाई कारबाही गर्नेभन्दा नियमित महाधिवेशनको प्रक्रियामा अघि बढ्नुपर्ने धारणा राखे । यद्यपि, गगन थापा पक्षलाई केन्द्रीय समितिको दुई तिहाइले कारबाही गरिसकेको उनको दाबी छ ।

अर्कोतर्फ, गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले पार्टीको नाम, झण्डा र चुनाव चिह्न प्रयोगको विषयलाई प्राथमिकतामा राखेको छ । केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले एउटै पार्टीको नाम र चुनाव चिह्न प्रयोग गरेर फरक–फरक गतिविधि सञ्चालन गर्नु पहिचानको दुरुपयोग भएको बताए ।

उनले पार्टीको नाम, झण्डा र चुनाव चिह्नको प्रयोग व्यवस्थित गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने प्रस्ताव बैठकमा पेस गरेको जानकारी दिए । पार्टीको नियमित गतिविधिमा सहभागी नहुने स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधिलाई सचेत गराउने तथा त्यसपछि पनि नफर्किए विधानअनुसार अनुशासन समितिमार्फत कारबाही अघि बढाउने तयारी रहेको उनको भनाइ छ ।

केन्द्रीय सदस्य सुशील भट्टले निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई आधिकारिकता दिइसकेको र अदालतले पनि विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन बाटो खुला गरेको दाबी गरे । पार्टीभित्रका असहमति बाहिर समानान्तर गतिविधि सञ्चालन गरेर नभई आन्तरिक छलफलबाट समाधान गर्नुपर्ने उनले बताए ।

तर देउवा पक्षले भने पार्टीको आधिकारिकताको विषय अन्तिम रूपमा टुंगिन बाँकी रहेको जिकिर गरेको छ । महाधिवेशन प्रतिनिधि राजकुमार डाँगीले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले नै कुनै एक पक्षलाई आधिकारिक र अर्कोलाई अनधिकृत भन्न नमिल्ने बताए ।

उनका अनुसार विशेष महाधिवेशन आयोजना गर्न महामन्त्रीहरूले केन्द्रीय कार्यसमिति वा सभापतिबाट अधिकार प्राप्त गर्नुपर्ने हुन्छ । आवश्यक प्रक्रिया पूरा नगरी गरिएको विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठ्ने उनको दाबी छ । निर्वाचन आयोगको निर्णयविरुद्ध आफ्नो पक्षले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएको पनि उनले बताए ।

यसरी कांग्रेसभित्र एक पक्ष नियमित महाधिवेशनमार्फत पुरानो नेतृत्वको निरन्तरता खोजिरहेको छ भने अर्को पक्ष विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वको आधारमा पार्टी गतिविधि अघि बढाइरहेको छ ।

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ नियमित महाधिवेशन गर्ने तयारी गरेको छ । गगन थापा पक्ष भने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक गतिविधि अघि बढाइरहेको छ ।

पार्टीको आधिकारिकता, नेतृत्वको वैधानिकता र चुनाव चिह्नको प्रयोगसम्बन्धी विवाद अदालत तथा निर्वाचन आयोगको निर्णयसँग जोडिएकाले कांग्रेसको आन्तरिक संकट तत्काल समाधान हुने संकेत देखिएको छैन । सहमतिको प्रयास असफल हुँदै जाँदा दुवै पक्षबीचको दूरी बढ्दै गएको छ ।