काठमाडौं । शेखर कोइराला र गगन थापा पक्षले नेपाली कांग्रेसको १५औं महाविधेशन पुस १६ गतेसम्म गर्न सकिने निष्कर्ष निकालेको छ । शुक्रबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।
सहमहामन्त्री बद्री पाण्डेले मंसिरमा सम्भव नभए पुसमा नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए । नेता कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका थिए।
छलफलमा नियमित महाधिवेशन पुस १६ गते उद्घाटन गर्ने गरि तालिका ल्याउने सकिने र क्रियाशील सदस्यता अबको एक महिनाभित्र टुंग्याउन सकिने निष्कर्ष निकालिएको पाण्डेले जानकारी दिए।
पुस १६ गते पार्टीका संस्थापक बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पनि हो। त्यही दिन पारेर महाधिवेशन गर्नसकिने इतर समूहको प्रस्ताव छ ।
क्रियाशील सदस्यता टुंग्याएको १५ दिनभित्र तल्लो समितिका अधिवेशन पनि गर्न सकिने निष्कर्ष कोइराला समूहको छ। बैठकले मंसिरमा सम्भव नभए पुस १६ गतेदेखि नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन र बैठकमा पेस गर्न महामन्त्री थापालाई जिम्मा दिएको छ।
पुस १६ गतेसम्म महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने म्यान्डेट लिएर महामन्त्रीद्वय थापा र शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल थालेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ । बैठकमा कार्यतालिका प्रस्तुत गर्ने तयारी शेखर पक्षको छ । यसअघि बिहीबार बसेको बैठकमा महामन्त्री थापाले मंसिरमै महाधिवेशन गर्नेगरी कार्यतालिका प्रस्तुत गर्न चाहेका थिए। तर कार्यवाहक सभापति खड्काले सहमति नदिएपछि उनी बैठक बहिष्कार गरेका थिए ।
यसअघि संस्थापन पक्षको बुधबार भएको बैठकले तत्काल महाधिवेशन नगई चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको थियो। संस्थापन पक्ष चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छ।
कांग्रेसमा महाधिवेशनबारे चर्को रस्साकस्सी चलिरहेको बेलामा विशेष महाधिवेशन पक्षधरले बेग्लै भेला बोलाएको छ। आइतबार काठमाडौंमा बस्ने गरी भेला बेलाएको हो।
कांग्रेसमा विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा बुझाइएको छ। तर संस्थापन पक्षले हस्ताक्षरको वैधानिकतामाथि नै प्रश्न उठाएपछि काउन्टर दिनको लागि बेग्लै भेला राखेको हो। विशेष महाधिवेशनको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरेले अहिले राष्ट्रव्यापी नभई थप छलफलको लागि आफूहरू जम्मा हुन लागेको बताए।








