नवलपरासी। पूर्व पश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा भएको भीषण दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। दुर्घटना पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोहीतर्फ आउँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना.५ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिँदा भएको हो।
दुर्घटनापछि बस करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)ले जनाएको छ। बस काठमाडौँबाट रोल्पा जाँदै थियो। मृतकमध्ये एकजनाको मात्र पहिचान भएको छ। उनी रोल्पा बागमाराका करिब २५ वर्षीय गोबिन बुढा हुन्। अन्य दुई मृतकको सनाखत हुन सकेको छैन र शव जिल्ला अस्पतालमा राखिएको छ।
दुर्घटनामा घाइतेहरूलाई लुम्बिनी सिटी अस्पताल, बुटवल र स्थानीय चिसापानी अस्पतालमा उपचार भइरहेको छ।
लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेका घाइतेहरू:
- मरिचमान घर्तीमगर, रोल्पा परिवर्तन ४, बसमा सवार, २४ वर्ष
- हिमाल घर्ती मगर, बस चालक, २४ वर्ष
- लोकराज ओझा, कञ्चनपुर कृष्णपुर, २८ वर्ष
- सागर चौधरी, ट्रक चालक, बर्दिया बारबर्दिया, २४ वर्ष
- जीवन चौधरी, १९ वर्ष
- लक्ष्मी खत्री, काठमाडौं, २८ वर्ष
- किरण पुन मगर, रोल्पा माडि २, १९ वर्ष
- सुशिला नेपाली, ४८ वर्ष
- मोतिलाल डाँगी, रोल्पा माडि गा.पा. ४, ५८ वर्ष
- झुप बहादुर घर्ती, ६२ वर्ष
- तिर्थ बहादुर पुन, ६२ वर्ष
- खिम बहादुर नेपाली, दाङ घोराही ३, ४९ वर्ष
- २५ वर्षकी एक महिला (नाम हालसम्म नखुलेको)
चिसापानी अस्पतालमा उपचार भइरहेका घाइतेहरू:
- विशाल चेपाङ, चितवन इछ्छा मनकामना १, ३१ वर्ष
- आषिक गुरुङ, पिकअप चालक, चितवन रत्ननगर, २९ वर्ष
प्रहरीले दुर्घटनाको विस्तृत छानबिन सुरु गरेको छ भने घाइतेहरूको उपचार प्राथमिकताका साथ भइरहेको छ।







