काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित पल्धुरी सित्खा पुल नजिक सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोसी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नम्बर ५ की सरिता विकका १० वर्षीय छोरा उकेश विकको मृत्यु भएको हो ।
सुनकोसी गाउँपालिका–५ का वडाध्यक्ष सुरथ बसेलका अनुसार सफल पुलामीको शव पल्धुरी सित्खा क्षेत्रमा फेला परेको थियो भने उकेश विकको शव केही तल सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको हो ।
बालकहरू बेपत्ता भएको खबर प्राप्त हुनेबित्तिकै स्थानीय जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकी रातामाटा, खुर्कोटस्थित सशस्त्र प्रहरीको गोताखोर टोली तथा स्थानीयवासीले संयुक्त रूपमा खोजतलास सुरु गरेका थिए । करिब दुई घण्टापछि दुवै बालकको शव फेला परेको जनाइएको छ ।
मृतक दुवै बालक प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा अध्ययनरत रहेका थिए । आइतबार अत्यधिक गर्मी भएको र विद्यालय पनि बिदा रहेकाले उनीहरू नदीमा पौडी खेल्न गएको अनुमान गरिएको छ ।
दुवै बालकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।








