काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई लक्षित गर्दै मानिस हुनु र मानवीय हुनु फरक कुरा भएको टिप्पणी गरेका छन्।
भण्डारीले सामाजिक सञ्जालमार्फत मानिसको वास्तविक पहिचान बाहिरी रूपले नभई भित्री मानवीयता, विचार, व्यवहार र संस्कारले निर्धारण गर्ने बताएका छन्।
उनले लेखेका छन्, ‘कति होलान् नेपालमा जनतालाई झुक्काउने, मानिसका रूपमा रहेका कठोर निर्दयी धुर्वे हात्तीहरू !!! मानिस हुनु र मानवीय हुनु फरक कुरा हो।’
उनले धाक, धम्की, क्रूरता र असभ्यता मानवीय चरित्र हुन नसक्ने उल्लेख गर्दै आदर्शको आवरणभित्र अपराध लुकेको हुन सक्ने टिप्पणीसमेत गरेका छन्।
भण्डारीले सामाजिक सञ्जालमा गरेको उक्त टिप्पणी खगेन्द्र सुनारलाई लक्षित रहेको बताइएको छ। यद्यपि, उनले आफ्नो अभिव्यक्तिमा सुनारको नाम उल्लेख गरेका छैनन्।









