काठमाडौं । नागरिक लगानी कोषद्वारा सञ्चालित उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड पनि आवद्ध भएका छन्। नेरुडे लघुवित्तमा करिब १ हजार १ सय जना कर्मचारी कार्यरत छन् भने उपकार लघुवित्तमा एक सयभन्दा बढी कर्मचारी छन्।
कोषको यो योजना संगठित संस्था तथा तिनका कर्मचारीहरूका लागि खुला छ, जसअन्तर्गत संघ–संस्थाहरुले योगदानमा आधारित वा गैर–योगदानमा आधारित दुवै प्रकारका उपदान कोष व्यवस्थापन गर्न सक्ने व्यवस्था छ। यही प्रावधानअनुसार दुवै लघुवित्त संस्थाहरू यस योजनामा संलग्न भएका हुन्। यसअघि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड पनि यस योजनामा सहभागी भइसकेको छ।
कोषले सन् २०५५ सालदेखि सुरु गरेको यो योजनाअन्तर्गत विभिन्न संस्थामा कार्यरत कर्मचारी तथा कामदारको उपदान र पेन्सनसम्बन्धी रकम संकलन गरी लगानी गर्दछ र सेवा निवृत पश्चात कर्मचारीहरुलाई भुक्तानी गर्दै आएको छ। हालसम्म १ हजार १५० संगठित संस्था र तिनमा कार्यरत करिब ३३ हजार कर्मचारी यस योजनामा सहभागी छन्।
व्यक्तिगत रूपमा सहभागिता जनाउने कर्मचारीहरूले आवास कर्जा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण तथा सजावटका लागि कर्जा सुविधा पाउनेछन्। साथै, सहभागीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक वा पारिवारिक आवश्यकता अनुसार पनि सहज कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।







