काठमाडौँ । नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश (नगदसमेत) वितरणको प्रस्ताव पारित गरेको हो ।

कोषको गत आवको करपछिको खुद नाफा एक अर्ब २५ करोड ६० लाख छ । जसमध्ये २५ करोड १२ लाख साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो ।

कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आव २०८१/८२ मा रदुई खर्ब ६६ अर्ब ६५ करोड खुद कोष संकलन भएकामा चालू आवको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम दुई खर्ब ९६ अर्ब ८९ करोड पुगेको जनाएको छ ।

साधारणसभाले कोषको वार्षिक प्रतिवेदन, गत आव २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ । साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरेको छ ।

साधारणसभामा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले गत आवको लाभांशबाट सेयरधनी सन्तुष्ट देखिनु, कोषका कर्मचारीको सेवासुविधा र वृत्तिविकासलगायत विषयमा चासो देखाउनु सकारात्मक रहेको बताए ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सेयरधनीले साधारणसभामा दिएका सुझाव सम्बोधन गरिने प्रतिबद्धता जनाए । साथै संस्थालाई सुशासित संस्थाका रूपमा अघि बढाउँदै लगिएको उनले दाबी गरे । कार्कीले कोषले नेपाल वायुसेवा निगममा गरेको कर्जा लगानीको असुलीमा जटिलता देखिएको बताए ।

त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषले शिक्षा, विपद् व्यवस्थापन तथा पुनर्निर्माणका क्षेत्रमा खर्च गरेको उनको भनाइ छ । कोषका तथ्यांक क्रमशः ‘डिजिटलाइज्ड’ गर्दै लगिएको र डाटा भण्डारणलाई सुरक्षित बनाउँदै लगिएको पनि कार्कीले जानकारी दिए ।