काठमाडौं । नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतामा नागरिक लगानी कोषका निर्देशक छबिरमण अधिकारी र नबिल बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार योगदानमा आधारित तथा गैर–योगदानमा आधारित उपदान कोष र अतिरिक्त अवकाश कोषको व्यवस्थापन नागरिक लगानी कोषमार्फत गरिनेछ । बैंकका कर्मचारीहरूले मासिक तथा वार्षिक रूपमा कोष कट्टी गरी नियमित रूपमा रकम नागरिक लगानी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

ADVERTISEMENT

कोषले बैंकका कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्नेछ भने बैंकको सिफारिसका आधारमा सेवा निवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था मिलाइने जनाएको छ ।

ADVERTISEMENT

त्यसैगरी, कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम तथा कार्यविधिअनुसार ब्याज, प्रतिफल र अन्य सेवा–सुविधा प्राप्त गर्नेछन् ।

सम्झौताअनुसार बैंकले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्नुपर्नेछ ।

यससँगै आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषका रूपमा सञ्चालित साबिकका अवकाश कोषहरूमा रहेको बैंक कर्मचारीहरूको अवकाश, उपदान तथा अतिरिक्त अवकाश कोषको रकम नागरिक लगानी कोषमा रकमान्तरण गरिने उल्लेख गरिएको छ ।

सम्झौताले बैंक कर्मचारीहरूको अवकाश व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।