काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट अस्पताल प्रा.लि.बीच कोषका सहभागी, कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापत्रमा कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहप्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् ।

ADVERTISEMENT

सम्झौताअनुसार कोषसँग आबद्ध कर्मचारी, सहभागी तथा उनीहरूका आश्रित परिवारका सदस्यले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, शल्यक्रिया कक्ष (ओटी) र फार्मेसीको बिलमा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

ADVERTISEMENT

तर, बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट लागू नहुने सम्झौतामा उल्लेख छ ।

सम्झौताअनुसार अस्पतालले कोषका सक्रिय सहभागीलाई एम्बुलेन्स सेवा तथा विशेष स्वास्थ्य प्याकेज उपलब्ध गराउनेछ । आवश्यकताअनुसार स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ । स्वास्थ्य शिविरमा सहभागी हुने चिकित्सकका लागि आवश्यक प्रोत्साहनको व्यवस्था पनि सम्झौतामा समेटिएको छ ।

ADVERTISEMENT

स्वास्थ्य सेवा लिने कर्मचारी तथा सहभागीको पहिचान कोषको परिचयपत्रका आधारमा गरिनेछ । परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा कोषले आवश्यक विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था गरिएको छ ।

सम्झौताअनुसार स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा दुवै संस्थाले प्राप्त गर्ने सूचना सुरक्षित र गोप्य राख्नुपर्नेछ । यस सहकार्यबाट कोषसँग आबद्ध सहभागी तथा उनीहरूका परिवारले सहुलियत दरमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् ।