तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरीबतास आउन सम्भव नरहेको बताएका छन्।
मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै दाहालले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनको जस्तो परिणाम नआउने जिकिर गरेका हुन्।
स्थानीय तहमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र काम हेरेर मतदाताले मतदान गर्ने उनको भनाइ छ। त्यसैले पार्टीका नेता तथा कार्यकर्तालाई सक्रियताका साथ चुनावी तयारीमा जुट्न उनले आग्रह गरे।
‘स्थानीय तहमा पहिलाको जस्तो हुरीबतास आउन सम्भव छैन, स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भन्ने हुँदैन,’ दाहालले भने, ‘सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता को–को छन्। हामीले कसिएर स्थानीय तहको चुनाव जित्ने हो भनेर लाग्ने हो भने संघको जस्तो हुँदैन।’
नयाँ राजनीतिक दलले गरेका काम आम नागरिकले बिस्तारै बुझ्दै गएको उल्लेख गर्दै उनले गाउँघरमा त्यसबारे बुझाउन अझै बाँकी रहेको बताए। मतदाताले उम्मेदवारको इतिहास र पृष्ठभूमि नबुझी मतदान नगर्ने उनको भनाइ थियो।
स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउन सके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने दाहालले दाबी गरे। पार्टीका कार्यकर्ताले जति सक्रियता देखाउँछन्, त्यति नै बढी सिट जित्न सकिने उनको भनाइ छ।












