काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी का वरिष्ठ नेता झलनाथ खनाल ले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन लोकतान्त्रिक तथा प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन्। प्रजातन्त्र दिवसका अवसरमा जारी सन्देशमार्फत उनले राष्ट्रलाई सम्भावित सङ्कटतर्फ जानबाट रोक्न आगामी निर्वाचनको सही उपयोग गर्नुपर्ने बताएका छन्।

उनले निर्वाचनलाई केवल सत्तामा पुग्ने माध्यमका रूपमा होइन, देशको राजनीतिक स्थायित्व, आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन्। लोकतान्त्रिक व्यवस्थाप्रति जनविश्वास मजबुत बनाउन जिम्मेवार राजनीतिक शक्ति एकजुट हुनुपर्ने उनले बताएका छन्। लोकतन्त्रलाई कमजोर पार्ने प्रवृत्तिहरूबाट सचेत रहन र संविधानले परिकल्पना गरेको मार्गमा अघि बढ्न सबै पक्षलाई उनले आह्वान गरेका छन्।

पूर्वप्रधानमन्त्री खनालले आफूलाई ‘नयाँ शक्ति’ का रूपमा प्रस्तुत गर्ने दलहरूसँग स्पष्ट नीति, कार्यक्रम र ठोस प्रतिबद्धताको अभाव देखिएको बताएका छन्। केवल नयाँ नाम र नाराले मुलुकको समस्या समाधान नहुने उल्लेख गर्दै उनले विगतदेखि राजनीतिक अभ्यास गर्दै आएका दलहरूले आफ्ना कमजोरी सच्याउँदै नयाँ संकल्पसहित जनतामाझ जानुपर्ने बताएका छन्। आत्मसमीक्षा र सुधारको प्रतिबद्धताविना विश्वास पुनःस्थापित हुन नसक्ने उनले बताएका छन्।

उनले आसन्न निर्वाचनलाई सम्पूर्ण नेपालीका लागि अवसर र चुनौती दुवैका रूपमा लिनुपर्ने बताएका छन्। जनताले विवेकपूर्ण ढंगले मताधिकार प्रयोग गरेमा राजनीतिक अस्थिरता अन्त्य गर्न, सुशासन कायम गर्न तथा आर्थिक समृद्धिको आधार तयार गर्न सकिने बताएका छन्। निर्वाचन परिणामले देशको आगामी दिशा निर्धारण गर्ने भएकाले सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनले बताएका छन्।

सन्देशमा उनले नेपालको इतिहासमा निरङ्कुश राणा शासनविरुद्ध उठेको लोकतन्त्रको आन्दोलनको स्मरण गरेका छन्। प्रजातान्त्रिक प्रक्रियाबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्नु अहिलेको प्रमुख दायित्व भएको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

पूर्वप्रधानमन्त्री खनालले प्रजातन्त्र प्राप्तिका आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। सहिदहरूको बलिदानकै कारण देशमा पटक–पटक ऐतिहासिक परिवर्तन सम्भव भएको बताएका छन्। लोकतान्त्रिक क्रान्ति, संविधानसभा निर्वाचन, नयाँ संविधान निर्माण, आम निर्वाचन तथा दुई तिहाइ बहुमतको सरकार गठन जस्ता महत्वपूर्ण उपलब्धि हासिल भएको उनले स्मरण गरेका छन्।

यद्यपि लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब दुई दशक पुग्न लाग्दासमेत अपेक्षित आर्थिक समृद्धि हासिल हुन नसकेको उनले बताएका छन्। राजनीतिक उपलब्धिलाई आर्थिक र सामाजिक रूपान्तरणसँग जोड्न नसक्दा जनअपेक्षा पूरा हुन नसकेको उल्लेख गरेका छन्। अब देशमा क्रान्तिकारी भूमि सुधार, कृषिको आधुनिकीकरण, राष्ट्रिय औद्योगिकीकरण तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा विशेष जोड दिनुपर्ने बताएका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नगरी समृद्ध राष्ट्र निर्माण सम्भव नहुने उनले बताएका छन्। गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा राज्यको भूमिका बलियो बनाउनुपर्नेमा उनले जोड दिएका छन्। युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन उद्योग, कृषि र सेवा क्षेत्रलाई सशक्त बनाउनुपर्ने उनले बताएका छन्।

उनले सामाजिक न्याय, समावेशी विकास र राष्ट्रिय स्वाधीनताको संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्। सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गरे मात्र लोकतन्त्रप्रति जनविश्वास अझ मजबुत हुने बताएका छन्। लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उनले बताएका छन्।

सन्देशको अन्त्यमा पूर्वप्रधानमन्त्री खनालले लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक व्यवस्थाको रक्षा गर्दै समृद्धि र सामाजिक रूपान्तरणतर्फ अघि बढ्न सबैलाई आह्वान गरेका छन्। आगामी निर्वाचनलाई सही दिशा दिन सकिए देशलाई स्थायित्व, समृद्धि र प्रगतितर्फ अघि बढाउन सकिने विश्वास व्यक्त गरेका छन्।