काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। लामो समयसम्म उम्मेदवारी क्षेत्रबारे स्पष्ट नगरेका प्रचण्डले अन्ततः पूर्वी रुकुमबाट चुनाव लड्ने निर्णय सार्वजनिक गरेका छन् ।

रुकुम पूर्वबाट उम्मेदवार बन्ने घोषणा गर्दै प्रचण्डले पूर्वी रुकुमसँगै पश्चिम रुकुमका जनतासँग पनि आफू एकाकार हुने प्रतिबद्धता व्यक्त गरे। रुकुम समग्र रूपमा आफ्नो राजनीतिक यात्रा र क्रान्तिसँग गहिरो रूपमा जोडिएको क्षेत्र भएको उनको भनाइ छ।

प्रचण्डलाई यसअघि करिब आधा दर्जन जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस गरिएको थियो। तर २१ फागुनमा हुने निर्वाचन नजिकिँदासमेत उनको उम्मेदवारी क्षेत्र सार्वजनिक भएको थिएन। पछिल्लो समय रुकुम केन्द्रित अभिव्यक्तिमार्फत उहाँले चुनाव पूर्वी रुकुमबाट लड्ने संकेत दिएका थिए।

उनले रुकुमको विकास, समृद्धि र जनजीवन सुधारका लागि आफू दृढतापूर्वक लाग्ने बताउँदै रुकुमेली जनता क्रान्तिकारी चेतनाले भरिपूर्ण र विचलित नहुने धारणा राखे। रुकुमका जनताले परिवर्तनको आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले त्यसको निरन्तरता आवश्यक रहेको उल्लेख गरे।

यस क्रममा प्रचण्डले पार्टीबाट अलग भएका नेताहरूप्रति कटाक्ष गर्दै रुकुमेली जनता भ्रममा नपर्ने दाबी गरे। जनताले राजनीतिक चाल र अवसरवादलाई बुझ्ने क्षमताको प्रशंसा गर्दै उनले आगामी चुनावमा रुकुमबाटै बलियो जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरे।