काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको बताएका छन् । उनले दुई देशबीचको ऐतिहासिक आत्मीयता, पारस्परिक सम्मान र विश्वासलाई समयअनुकूल थप मजबुत बनाउँदै सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

भारतको पहिलो द्विपक्षीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।

ADVERTISEMENT

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धको वास्तविक आधार दुवै देशका जनता रहेको उल्लेख गरे । उनले दुई देशबीचको आत्मीयता र निकटतालाई शब्दमा मात्र सीमित गर्न नसकिने बताए ।

ADVERTISEMENT

‘नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ । यो यस्तो आत्मीय निकटता हो, जसलाई शब्दको सीमिततामा बाँध्न सकिँदैन,’ उनले भने ।

प्रधानमन्त्री शाहले भगवान् पशुपतिनाथ, माता जानकी र करुणामय मच्छिन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको सद्भाव लिएर भारत आएको उल्लेख गर्दै न्यानो आतिथ्य र निमन्त्रणाका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरे ।

उनले भारतलाई नेपालको विश्वसनीय छिमेकीका रूपमा चित्रण गर्दै प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले गर्दै आएको सहयोगको प्रशंसा गरे । विपद्का समयमा भारत सरकार र भारतीय जनताले देखाएको सहयोगप्रति उनले कृतज्ञता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहका अनुसार नयाँदिल्लीमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्ताले नेपाल–भारतबीचको शताब्दीयौँ पुरानो सम्बन्धलाई थप सुदृढ र समयसापेक्ष बनाउने आधार तयार गरेको छ । वार्तामा द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा सार्थक छलफल हुनुका साथै सहकार्यका नयाँ क्षेत्र पहिचान गरिएको उनले बताए ।

उनले वार्ताका क्रममा भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल दुवै देशका नागरिकले अनुभूति गर्न पाउनुपर्नेमा विशेष जोड दिए ।

‘आज हामीले गरेका समझदारी र अघि बढाएका परियोजनाहरूको प्रतिफल समृद्धिका रूपमा देखिनुपर्छ,’ उनले भने ।

दुई देशबीच भएका उपलब्धि, समझदारी र आगामी सहकार्यका योजनालाई संयुक्त दृष्टिकोणपत्र तथा साझा उपलब्धिसम्बन्धी संयुक्त प्रेस विज्ञप्तिमार्फत विस्तृत रूपमा सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।

यसै अवसरमा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । साथै, भारतका नागरिकलाई हिमालयको काखमा रहेको नेपाल भ्रमण गर्न आग्रह गरेका छन् ।

उनले मुक्तिनाथ, पशुपतिनाथ, जानकी मन्दिर, जीवित देवी कुमारी र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको भ्रमण गर्न भारतीय नागरिकलाई निमन्त्रणा दिएका हुन् ।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपाल–भारत मित्रता विश्वास, सहकार्य र साझा समृद्धिमा आधारित हुनुपर्ने धारणा व्यक्त गरे ।

‘नेपाल र भारतबीचको मित्रता यस्तो होस्, जहाँ विश्वास हिमालझैँ होस्, सहकार्य नदीझैँ अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रियोस्,’ उनले भने ।

प्रधानमन्त्री शाहको सम्बोधनले नेपाल–भारत सम्बन्धलाई ऐतिहासिक निकटतामा मात्र सीमित नराखी आपसी विश्वास, विकास र नागरिकको समृद्धिसँग जोडेर अघि बढाउने नेपालको प्राथमिकता प्रस्तुत गरेको छ ।