काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपल्ट नेपाली जनतालाई संविधान दिवसको शुभकामना दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार भएको टेलिफोन वार्तामा मोदीले नेपालले भोलि (असोज ३) मनाउन गइरहेको संविधान दिवसको शुभकामना दिएका हुन् ।
मोदीले आफूले नेपालका प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्तामा सौहार्दतापूर्ण कुराकानी भएको उल्लेख गरेका छन् ।
‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई पुनः पुष्टि गरें। साथै, मैले भोलि राष्ट्रिय दिवसमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरें,’ मोदीले लेखेका छन् ।
भारतले पहिलोपल्ट नेपाललाई संविधान दिवसको शुभकामना दिएको हो । संविधान जारी भएको १० वर्षसम्म भारतले स्वागत गरेको थिएन । भारतले नेपालमा संविधान जारी भएको विषय आफ्नो ‘नोट’ मा रहेको बताउने गरेको थियो । भारतले रोक्दारोक्दै पनि संविधान जारी भएपछि नेपालसँग सम्बन्ध चिसिएको थियो । लगत्तै भारतले नेपालमा नाकाबन्दी लगाएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गरेका थिए । । मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका थिए । छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएकोसमेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।








