काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुँदैछ। दुई देशबीचको सम्बन्धको समीक्षा गर्दै व्यापार, लगानी, ऊर्जा र पूर्वाधारलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुन लागेको हो।

वार्तामा विशेषगरी व्यापार, यातायात, लगानी तथा पूर्वाधार विकासका क्षेत्रमा आर्थिक सहकार्यलाई प्राथमिकता दिइने अपेक्षा छ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारीसमेत छ।

ADVERTISEMENT

भ्रमणका क्रममा कनेक्टिभिटी र ऊर्जा सहकार्य पनि महत्वपूर्ण एजेन्डाका रूपमा रहनेछन्। यी क्षेत्रमा सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। यसबाट सीमापार पूर्वाधार र ऊर्जा सहकार्यलाई थप गति दिने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

सरकारी तहको वार्तासँगै भारत–नेपाल बिजनेस फोरम पनि आयोजना हुँदैछ। फोरममार्फत नेपालमा भारतीय लगानी आकर्षित गर्ने र दुवै देशका निजी क्षेत्रबीच व्यापारिक साझेदारी विस्तारका सम्भावना खोजिनेछ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक दिवाभोज आयोजना गर्ने कार्यक्रम पनि छ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेञ्जनकारसहित ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भारत भ्रमणमा छ।

यसअघि सोमबार प्रधानमन्त्री शाहले राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनले त्यहाँ रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए।

त्यसअघि राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा शाहलाई औपचारिक गार्ड अफ अनर प्रदान गरिएको थियो।

दुईदिने भ्रमणले नेपाल–भारत सम्बन्धको समीक्षा गर्दै व्यापार, ऊर्जा, पूर्वाधार र अन्य साझा चासोका क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।