काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई दुई देशबीचको आपसी विश्वास अभिवृद्धि, व्यापार विस्तार, आर्थिक साझेदारी र कनेक्टिभिटीका विषयमा केन्द्रित गर्न पूर्वपरराष्ट्रमन्त्रीहरूले सुझाव दिएका छन्।
उनीहरूले नेपाल र भारतबीच लामो समयदेखि कायम जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै दुवै देशको हित हुने खालका समझदारी तथा सम्झौता गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते भारतको दुई दिने औपचारिक भ्रमणमा जाँदै छन्। भ्रमणका क्रममा नेपालका प्राथमिकता र राष्ट्रिय हितसँग जोडिएका विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्ने पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव छ।
पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको प्रमुख चासो व्यापार घाटा भएकाले भ्रमणका क्रममा यस विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए। भारतसँगको व्यापार घाटा कम गर्ने उपाय खोज्नुका साथै नेपाली वस्तु तथा सेवाको निर्यातमा सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।
महतले सीमा सम्बन्धी विषय तथा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। नेपाल र भारतबीचको सम्बन्धलाई दीर्घकालीन विश्वासमा आधारित बनाउन दुवै देशका चासो र चिन्तालाई सम्बोधन गर्नुपर्ने उनले उल्लेख गरे।
त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको विश्वास अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताए। छिमेकीका जायज सरोकारलाई सम्बोधन गर्दै विश्वासको वातावरण निर्माण गर्नुपर्ने उनको सुझाव छ।
ज्ञवालीले नेपालका लागि थप हवाई रुट प्राप्त गर्ने विषय महत्त्वपूर्ण रहेको उल्लेख गरे। सन् २०१८ मा भारत भ्रमणका क्रममा नयाँ हवाई रुट उपलब्ध गराउने विषयमा समझदारी भएको स्मरण गराउँदै त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ। जलविद्युत् आयोजना कार्यान्वयन, आर्थिक साझेदारी र संयुक्त परियोजनाका विषयमा पनि स्पष्ट छलफल हुनुपर्ने उनले बताए।
पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले विगतमा सरकारले अघि बढाएका अधुरा कामलाई पूरा गर्न भ्रमण केन्द्रित हुनुपर्ने बताइन्। उनका अनुसार थप हवाई मार्ग प्राप्त गर्न सके क्षेत्रीय पर्यटन प्रवर्द्धन, नागरिकको आवतजावत र व्यापार विस्तारमा सहयोग पुग्नेछ। नेपालले राखेका प्रस्तावमध्ये सम्भव विषयमा आपसी समझदारी कायम गर्नुपर्ने उनको सुझाव छ।
पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपाल–भारत सम्बन्धमा देखिएको तिक्तता अन्त्य गर्दै आपसी विश्वास र मित्रता बलियो बनाउनुपर्ने बताए। भ्रमणका क्रममा लगानी, विकास र व्यापारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
यादवले पारवहनका समस्या, हवाई मार्ग, सीमा विवाद तथा सीमावर्ती नागरिकले भोग्दै आएका समस्याको समाधानमा पहल गर्नुपर्ने बताए। नेपालमा जलस्रोतको विकास र विद्युत् व्यापारलाई पनि प्राथमिकताका साथ उठाउनुपर्ने उल्लेख गर्दै बङ्गलादेशमा विद्युत् निर्यातका लागि भारतको सहयोग आवश्यक रहेको उनले बताए।
त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणका विषयलाई राजनीतिक र जनताको दैनिक जीवनसँग जोडिएका मुद्दाका रूपमा छुट्टाछुट्टै प्राथमिकता दिनुपर्ने बताइन्।
उनका अनुसार राजनीतिक विषयमा पर्याप्त गृहकार्य गरी नेपालको स्पष्ट धारणा राख्नुपर्छ भने व्यापार घाटा, निर्यातमा देखिने अवरोध र हवाई मार्गजस्ता जनताको दैनिक जीवन तथा आर्थिक गतिविधिसँग जोडिएका विषयलाई पनि प्राथमिकतामा राख्न आवश्यक छ।
पौडेलले विद्युत् व्यापार र ठूला भौतिक पूर्वाधारका आयोजनालाई समेत भ्रमणको महत्त्वपूर्ण एजेन्डा बनाउनुपर्ने बताइन्।
पूर्वपरराष्ट्रमन्त्रीहरूको साझा सुझावअनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणलाई केवल औपचारिक भेटघाटमा सीमित नगरी व्यापार, पारवहन, हवाई कनेक्टिभिटी, जलविद्युत्, पूर्वाधार विकास र आपसी विश्वास अभिवृद्धिका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने देखिन्छ।












