काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनलाई फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण राजनीतिक संघर्षका रूपमा व्याख्या गरेका छन् ।

काठमाडौंमा पार्टीले आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि संघर्षको विकल्प नरहेको बताए ।

ADVERTISEMENT

उनले विगतको निर्वाचन पनि यी दुई राजनीतिक धारबीचको संघर्ष भएको दाबी गर्दै आगामी निर्वाचनमा पनि यही शक्ति संघर्ष दोहोरिने बताए । गत निर्वाचनको परिणाम पुनः दोहोरिन्छ वा त्यसमा क्रमभंग हुन्छ भन्ने प्रश्न अहिलेको प्रमुख राजनीतिक विषय रहेको उनको भनाइ थियो ।

ADVERTISEMENT

आगामी निर्वाचन सामान्य नहुने भन्दै थापाले चुनावी सफलता हासिल गर्न पार्टीभित्रको एकता सुदृढ गर्नुपर्नेमा जोड दिए । चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै उनले ‘आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ’ भन्ने रणनीति आत्मसात् गर्नुपर्ने बताए ।

गत निर्वाचनमा एमालेले आफ्ना कमजोरी पहिचान गर्न नसकेको, प्रमुख प्रतिद्वन्द्वी चिन्न नसकेको र त्यसविरुद्ध सहकार्य गर्न नसकेको थापाको स्वीकारोक्ति थियो । पार्टीले आन्तरिक एकता कायम गर्न र जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न नसकेको पनि उनले बताए ।

उनले पछिल्लो समय भूराजनीतिक शक्तिबीचको संघर्ष तीव्र बनेको, लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढेको र सरकारप्रति जनताको आक्रोश चुलिँदै गएको दाबी गरे । पछिल्ला घटनाक्रमले संसदीय, सडक तथा कानुनी संघर्षमा विजयको संकेत देखाएको उनको भनाइ थियो ।

आगामी निर्वाचनमा सफलता प्राप्त गर्न जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्ने र नेतृत्वको वरिपरि एकताबद्ध हुने रणनीति आवश्यक रहेको उनले बताए ।

आगामी वर्ष निर्वाचन वर्ष भएकाले स्थानीय तह, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुट्नुपर्ने थापाको भनाइ थियो । यसका लागि गत फागुन २१ गते सम्पन्न निर्वाचनबारे पार्टीले गरेको समीक्षालाई आधार बनाएर उपयुक्त चुनावी रणनीति तय गर्नुपर्ने उनले बताए ।

राष्ट्रिय भेलालाई पार्टीको नयाँ एकता र नयाँ संकल्पको अभिव्यक्तिका रूपमा व्याख्या गर्दै थापाले केन्द्रीय कमिटीले तय गरेका ‘दुई कार्यभार र १५ काम’ पूरा गर्न भेला आयोजना गरिएको जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न पार्टी पुनर्निर्माण गर्ने, राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक आन्दोलनको तयारी गर्ने तथा आगामी निर्वाचनको पूर्वतयारी गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, संविधान रक्षाका लागि कानुनी संघर्ष गर्ने तथा जनतासँग प्रत्यक्ष संवादमार्फत सम्बन्ध विस्तार र सुदृढीकरण गर्ने निर्णय पनि भएको उनले बताए । विगतको निर्वाचनबारे केन्द्रीय समितिले गरेको गम्भीर आत्मसमीक्षाबाट प्राप्त निष्कर्षलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।