काठमाडौ । पश्चिम एसियामा उत्पन्न द्वन्द्वपछि हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

संयुक्त राज्य अमेरिका र इरानबीचको युद्धले तनाव उत्पन्न भएपछि वैदेशिक रोजगारीलगायत काममा गएकामध्ये ३० हजारभन्दा बढी नेपाली घर फर्किएको परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत् जनाएको छ ।

मन्त्रालयका अनुसार ती नागरिकहरू तत्कालको परिस्थितिका कारण र बिदामा घर फर्किएका हुन् । त्यसमध्ये २१ हजार नेपाली नागरिक कतारबाट फर्किएको मन्त्रालयको मध्येएसिया, पश्चिमएसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिए । यसैगरी उक्त द्वन्द्वपछि मन्त्रालयको कन्सुलर सेवा विभागले सुरु गरेको अनलाइन पोर्टलमा हालसम्म सोक्षेत्रका ८७ हजार ८१९ जनाले आफ्नो अवस्थाका बारेमा दर्ता गराएको उनले बताए ।

द्वन्द्वका क्रममा इरानको हर्मुज क्षेत्रमा पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाईको पहल भइरहेको महाशाखाका प्रमुख खड्काले जानकारी दिए । उनी छिट्टै रिहाइ हुने मन्त्रालयले जनाएको छ ।

यसैगरी कामको सिलसिलामा इरानमा रहेका १० नेपाली नागरिकमध्ये दुई जना स्वदेश फर्कने तयारीमा रहेको बताउँदै बाँकी ८ जना हाल सुरक्षित महसुस गरी इरानमै रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । मन्त्रालयले सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक सहजताका लागि आपतकालीन प्रतिकार्य समूहमार्फत काम गरिरहेको जनाएको छ ।