काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा आगामी सोमबार फेरि सुनुवाइ हुने भएको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले मंसिर ७ गते अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको हो ।
सोमबार हुने छलफलमा रिट निवेदक कार्कीका कानुन व्यवसायी, उनलाई पदबाट हटाउने सरकारी निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल र नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका तर्फबाट बहस गर्ने कानुन व्यवसायी सहभागी हुनेछन् ।
यसअघि बुधबार सर्वोच्च अदालतले कार्कीको मागअनुसार तत्काल अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । दुवै पक्षको बहस सुनेपछि मात्रै अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्ने भन्दै अदालतले छलफलका लागि बोलाएको हो ।
मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो । आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।












