काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा डा. मनोजकुमार केसीको पद उल्लेख गरिएको शब्दावली संशोधन गरेको छ।
कार्कीले रिट निवेदनमा टाइप गर्दा त्रुटि भएको भन्दै सच्याउन निवेदन दिएपछि सर्वोच्च अदालतले शुक्रबार संशोधनको आदेश दिएको हो।
न्यायाधीश अब्दुल अजीज मुसलमान र गोकर्ण डाँगीको संयुक्त इजलासले रिट निवेदनको पहिलो पानाको दोस्रो हरफमा रहेको ‘बढुवा गरिएका भनिएका प्रहरी अतिरिक्त महानिरीक्षक’ भन्ने शब्दावली हटाएर ‘बढुवा गरिएका प्रहरी महानिरीक्षक’ कायम गरेको छ।
इजलासले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १९ बमोजिम रिट निवेदन संशोधन गर्ने आदेश दिएको हो। संशोधन आदेशलाई रिट निवेदनको अभिन्न अंग मानी मिसिलमा राख्न पनि इजलासले आदेश दिएको छ।
यसअघि मंसिर २ गतेको कारण देखाऊ आदेशअनुसार सर्वोच्च अदालतले मंसिर ३ गते प्रहरी प्रधान कार्यालय, नक्सालका नाममा सूचना म्याद जारी गरेको थियो। शाखा अधिकृत रेवतीप्रसाद पराजुलीले हस्ताक्षर गरेको उक्त सूचनामा डा. केसीको पद उल्लेख गर्दा संशोधन हुनुअघिकै शब्दावली प्रयोग भएको थियो।
सूचनामा बाटोको म्यादबाहेक सूचना प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रमाण तथा कागजातसहित लिखित जवाफ पेस गर्न भनिएको छ।
त्यस्तै, अन्तरिम आदेश जारी गर्ने विषयमा छलफलका लागि मंसिर ७ गते तोकिएको पेसीमा उपस्थित हुन पनि सर्वोच्च अदालतले सूचनामार्फत आग्रह गरेको छ।












