काठमाडौं । नेपाल प्रहरीको ३३औं आईजीपीका रुपमा दानबहादुर कार्कीले बिहीबारदेखि कमाण्ड सम्हालेका छन् । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बुधबारदेखि अनिवार्य अवकाश पाएपछि कार्कीले आजदेखि प्रहरीको नेतृत्व सम्हालेका हुन् ।
कार्कीको कार्यकाल २९ महिना रहनेछ । नवनियुक्त आईजीपी कार्कीलाई बिहीबार बिहान दज्र्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा कार्कीलाई गृहसचिव रामेश्वर दंगालले फुली लगाइदिएका हुन् ।
२०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कार्कीले प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् । कार्की पनि यसअघिका महानिरीक्षक खापुङ जतिकै काबिल प्रहरी अधिकृत मानिन्छन् ।





