काठमाडौं । पुँजीबजारमा देखिएका समस्या समाधान गर्दै लगानीकर्ताको विश्वास बढाउन अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे सुधार तथा पुनरुत्थान कार्ययोजना तत्काल कार्यान्वयन गर्न स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गरेको छ ।

एसोसिएसनका अध्यक्ष सागर ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुबेदीसँग भेट गरी कार्ययोजना कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गरेको हो । प्रतिनिधिमण्डलले सुबेदीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको थियो ।

ADVERTISEMENT

भेटमा अध्यक्ष ढकालले २१ बुँदे कार्ययोजना समयमै कार्यान्वयन हुन सके पुँजीबजारमा विद्यमान समस्या समाधान हुनुका साथै बजारप्रति लगानीकर्ताको विश्वास अभिवृद्धि हुने बताए । कार्ययोजनाले बजारलाई थप पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

ADVERTISEMENT

ढकालले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी र अन्य सरोकारवालाबीच समन्वय तथा सहकार्य आवश्यक रहेको पनि औंल्याए ।

जवाफमा नेप्सेका सीईओ सुबेदीले पुँजीबजारको विकास र सुधारका लागि सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार रहेको बताए । उनले अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

एसोसिएसनले नेपालको पुँजीबजारलाई पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य जारी राख्ने जनाएको छ ।