सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो करिब २ बजे जनकपुरबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको हो ।
दुर्घटनामा माइक्रोबसमा सवार सबै १४ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ भने पाँच जनाको विवरण खुल्न बाँकी छ ।
पहिचान खुल्नेमा धनुषाको शहीदनगर नगरपालिका–८ का चालक दीपककुमार दास, शहीदनगर–७ की १७ वर्षीया रानीकुमारी मण्डल, शहीदनगर–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन् ।
त्यस्तै, ललितपुरको भैंसेपाटीकी ३६ वर्षीया प्रियाङ्का साह र उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा ३ वर्षीया ओमी साह पनि घाइते भएका छन् ।
दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो ।
बाँकी पाँच घाइतेको पहिचान खुलाउने कार्य भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।












