काभ्रेपलाञ्चोक — सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै असोज ८ गतेदेखि ११ गतेसम्म बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइने भएको छ ।
मनसुन प्रतिकार्य कमाण्डपोष्ट काभ्रेपलाञ्चोकको बुधबार बसेको बैठकले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारी सञ्चालन रोक्ने निर्णय गरेको हो ।
सम्भावित जोखिमको अवस्था हेरी आवश्यक परे दिनको समयमा समेत सवारी सञ्चालनमा रोक लगाउन सकिने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार विगतमा बाढीपहिरोबाट भएको क्षति र आगामी दिनमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो ।
दुई वर्षअघि आएको भीषण बाढीपहिरोका कारण बीपी राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुगेको थियो । त्यसपछि पनि राजमार्गका केही स्थानमा बाढीपहिरोको जोखिम कायम रहेकाले वर्षातको समयमा थप सावधानी अपनाउनुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ ।
राजमार्गमा आवागमन रोक्ने निर्णय कार्यान्वयनमा सहजीकरणका लागि सिन्धुली र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई समेत अनुरोध गर्ने निर्णय भएको छ ।
कमाण्डपोष्टले नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित बाढीपहिरोबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे निरन्तर सूचना प्रवाह गर्ने निर्णय गरेको छ । स्थानीय सञ्चार माध्यममार्फत पूर्वसूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्न नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखालाई समेत सहजीकरणका लागि अनुरोध गरिने भएको छ ।
सम्भावित विपद्का बेला नागरिकलाई समयमै सूचना उपलब्ध गराउने, जोखिमयुक्त स्थानमा रहेका बासिन्दालाई सचेत गराउने तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहसँग समन्वय गर्ने तयारी गरिएको छ ।
त्यस्तै सम्भावित बाढीपहिरो तथा अन्य विपद्का घटनामा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न नेपाली सेना श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वाटरबाट उद्धार टोलीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।







