काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको संगठनात्मक एकता सुदृढ गर्ने उद्देश्यसहित काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । मंसिर २ र ३ गते हुने भेलामा देशभरबाट ३ हजार ५१४ जना नेता, कार्यकर्ता तथा जनप्रतिनिधि सहभागी हुने भएका छन् ।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले भेलाको तयारीबारे जानकारी दिँदै केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने बताए ।
उनका अनुसार एमालेको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व तथा संघीय संसद्देखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एउटै मञ्चमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो । सहभागी संख्याका आधारमा यसलाई महाधिवेशनपछिको ठूलो कार्यक्रमका रूपमा लिइएको उनले बताए ।
भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित तयारी गर्नु, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु तथा वैचारिक र संगठनात्मक एकतालाई थप मजबुत बनाउनु रहेको आचार्यले बताए ।
त्यस्तै, मुलुकमा पछिल्लो समय देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्यसमेत भेलाले राखेको छ ।
भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नेछन् । उनले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामबारे पनि राजनीतिक तथा वैचारिक मार्गनिर्देशन दिने कार्यक्रम छ ।
त्यसैगरी पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन् ।
भेलामा उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका महत्त्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नेछन् ।
महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण तथा स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिए ।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् । त्यस्तै, संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र जनसंगठनका प्रतिनिधिको समेत सहभागिता रहनेछ ।
एमालेले भेलामा सहभागी सबैबाट स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा संकलन गर्ने जनाएको छ । यसबाट आगामी निर्वाचनको रणनीति र संगठनात्मक तयारीलाई थप प्रभावकारी बनाउने पार्टीको अपेक्षा छ ।
भेलाको व्यवस्थापन, सुरक्षा र स्वास्थ्य सेवाको तयारी पूरा भएको आचार्यले बताए । कार्यक्रमका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । स्वास्थ्य सेवाका लागि सभाहलको मुख्य प्रवेशद्वारमा सहायता कक्ष राखिनेछ भने सवारी पार्किङको व्यवस्था पार्टी केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको छ ।
सहभागीले आफ्नो आवासको व्यवस्था आफैँ गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्नेका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्ने एमालेले जनाएको छ ।
भेलाको उद्घाटन समारोहमा सञ्चारकर्मीलाई समाचार संकलन तथा श्रव्यदृश्य सामग्री छायांकनका लागि सभाहलमा पहुँच दिइनेछ । बन्दसत्रका गतिविधिबारे भने पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टरमार्फत नियमित जानकारी गराउनेछ ।












