जनकपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने बताए ।

ADVERTISEMENT

पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुने विषयमै संशय उत्पन्न भएको भन्दै सरकारले निर्वाचनको तयारी र प्रतिबद्धता स्पष्ट पार्नुपर्ने धारणा राखे । निर्धारित समयमा निर्वाचन नगरेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने उनको भनाइ छ ।

ADVERTISEMENT

स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबिना स्वतन्त्र उम्मेदवारबीच मात्रै गराउने सोच सरकारको भए संविधान संशोधन गर्नुपर्ने उनले बताए । तर, त्यसका लागि सरकारले कुनै गृहकार्य नगरेको उनको टिप्पणी छ ।

‘सरकारले स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन गर्न कुनै ठोस गृहकार्य गरेको देखिँदैन । बरु आगामी चैतमा निर्वाचन हुन्छ वा हुँदैन भन्ने विषयमै अन्योल सिर्जना भएको छ,’ पौडेलले भने, ‘तोकिएको समयमा निर्वाचन गराएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन हुन नदिनु अहिलेको प्रमुख विषय हो ।’

उनले स्वतन्त्र उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने व्यवस्था ल्याउन संविधान संशोधन आवश्यक पर्ने दोहोर्‍याउँदै सरकारको वास्तविक योजना र उद्देश्यबारे स्पष्टता माग गरे ।

कांग्रेस तत्काल सडक आन्दोलनमा जान नचाहेको त र सरकारको हठ र अलोकतान्त्रिक व्यवहार जारी रहे लोकतन्त्र जोगाउन जुनसुकै सङ्घर्ष गर्न तयार रहेको पौडेलले बताए ।

‘नेपाली कांग्रेस अहिले सडक आन्दोलनमा जानुभन्दा पनि सरकारलाई सचेत गराउँदै शान्तिपूर्ण र विधिसम्मत ढङ्गले आफ्ना प्रश्न राख्ने पक्षमा छ,’ उनले भने, ‘तर लोकतान्त्रिक व्यवस्था नै सङ्कटमा पर्ने अवस्था आएमा त्यसको रक्षाका लागि आन्दोलन र अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्ने छैन ।’

सरकारले नागरिकका आवाज र असहमतिलाई सुन्नुपर्ने उनको भनाइ थियो । सडकमा उभिएर वा अन्य माध्यमबाट आफ्ना कुरा राख्न चाहने नागरिकका लागि सरकारले सहज वातावरण बनाउनुपर्ने उनले बताए ।

लोकतन्त्रको रक्षा र समयमै निर्वाचन सम्पन्न गर्नु कांग्रेसको अहिलेको प्रमुख सरोकार रहेको उल्लेख गर्दै पौडेलले सरकार सच्चिएर सही बाटोमा आउने विश्वास व्यक्त गरे । त्यसो नभए लोकतन्त्र रक्षाका लागि अन्य शक्तिसँग सहकार्य गरेर आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।