काठमाडौं । नेपाली कांग्रेसले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि जलवायु न्याय र राष्ट्रिय विपद् सहनशीलताका विषयमा सर्वदलीय राष्ट्रिय परामर्श गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेको छ।
बिहीबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद रन्जित कर्णले महासभामा प्रधानमन्त्रीले नेपालको साझा राष्ट्रिय धारणा प्रस्तुत गर्नुपर्ने भन्दै सत्ता पक्ष, विपक्ष, संघीय संसद्, वैज्ञानिक, विज्ञ तथा प्रभावित क्षेत्रका नागरिकसँग परामर्श गर्न सुझाव दिएका हुन्।
कर्णले भने, “प्रधानमन्त्रीज्यूलाई आग्रह छ, संयुक्त राष्ट्रसंघ जानुअघि जलवायु न्याय र राष्ट्रिय विपद् सहनशीलताका विषयमा सर्वदलीय राष्ट्रिय परामर्श गर्नुहोस्।”
उनले सम्भव भए संघीय संसद्बाट साझा जलवायु न्यायसम्बन्धी राष्ट्रिय संकल्प पारित गर्ने पहल गर्नसमेत आग्रह गरे। बहुमतभन्दा सहमति निर्माण गर्ने क्षमता ठूलो राजनीतिक शक्ति भएको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदैछ। प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्युयोर्क प्रस्थान गर्ने र २४ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
महासभामा प्रधानमन्त्रीले जलवायु न्याय र राष्ट्रिय विपद् सहनशीलताका विषय उठाउने तयारी भइरहेका बेला कांग्रेसले राष्ट्रिय सहमति निर्माण गरेर साझा धारणा प्रस्तुत गर्न सुझाव दिएको हो।
कर्णले प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्रीले द्विपक्षीय तथा बहुपक्षीय वार्ता गर्नुपर्ने, वैज्ञानिकले विपद्का कारण र क्षतिबारे प्रमाण प्रस्तुत गर्नुपर्ने तथा जलवायु वित्तका विज्ञले वित्तीय साझेदारसँग छलफल गर्नुपर्ने बताए।






