काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको झिलिमिली देख्दा २०७३ सालअघिका लोडसेडिङका दिन सम्झिने गरेको बताएका छन्।
तिहारको अवसरमा प्रेस नोट जारी गर्दै उनले कुनै समय उज्यालोको पर्वसमेत अन्धकारमा मनाउनुपर्ने बाध्यता रहेको स्मरण गरेका हुन्।
‘तिहारको झिलिमिली देख्दा २०७३ सालअघिका ती अँध्यारा दिनहरू सम्झिन्छु। उज्यालोको पर्वसमेत अन्धकारमा मनाउनुपर्ने बाध्यता थियो,’ उनले भनेका छन्, ‘तर नागरिकको साथ, विश्वास र हाम्रो दृढ संकल्पले असम्भवलाई सम्भव बनायो। देश लोडसेडिङमुक्त भयो, देशका करिब हरेक घरमा बत्ती पुर्यायौँ र आज नेपाली बिजुली विदेशसम्म पुगेको छ।’
घिसिङले विद्युत्को अन्धकार हटाएजस्तै अब भ्रष्टाचार, गरिबी, बेथिति, बेरोजगारी, अन्याय र निराशाको अन्धकार हटाउने संकल्प रहेको बताएका छन्।
‘चुनौती जति आए पनि हाम्रो यात्रा रोकिने छैन। किनकि अँध्यारोलाई सरापेर होइन, आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्छ,’ उनले भनेका छन्।
उनले विगतमा प्राप्त साथ र विश्वासप्रति आभार व्यक्त गर्दै सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणको अभियानमा पनि नागरिकको साथ रहने अपेक्षा गरेका छन्।












