सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार १० खेल विधामा प्रतिस्पर्धा हुँदै छ। कर्णालीसहित बाँके र बर्दियाका विभिन्न खेलस्थलमा प्रतियोगिताका खेल सञ्चालन हुनेछन्।
शुक्रबार सुर्खेतमा महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबल, बक्सिङ, फुटबल, जिम्न्यास्टिक र फुल कन्ट्याक्ट कराँतेका खेल हुनेछन्।
त्यस्तै, बाँकेको नेपालगन्जमा पौडी, बर्दियामा टेनिस र पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछ।
शुक्रबारको खेल तालिकाअनुसार वीरेन्द्रनगरमा बिहान ९ बजेदेखि महिला क्रिकेट सुरु हुनेछ। महिला क्रिकेटको अर्को खेल दिउँसो १ः३० बजे हुनेछ। महिला बास्केटबलका खेल पनि बिहान ९ बजेदेखि सञ्चालन हुनेछन्।
सुर्खेतको मुख्य रंगशालामा बिहान ९ बजेदेखि पुरुष फुटबलका खेल सुरु हुनेछन्। ती खेल दिउँसो २ः३० बजेसम्म सञ्चालन हुने तालिका छ। पुरुष क्रिकेटतर्फ कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि प्रतिस्पर्धा हुनेछ।
त्यसैगरी, सुर्खेतको मुख्य कभर्डहलमा बिहानैदेखि बक्सिङका खेल हुनेछन् भने मिनी कभर्डहलमा जिम्न्यास्टिकका प्रतिस्पर्धा हुनेछन्। ब्याडमिन्टन कभर्डहलमा बिहान ११ बजेदेखि फुल कन्ट्याक्ट कराँतेका खेल सञ्चालन हुनेछन्।
सुर्खेतबाहिरका खेलस्थलमा पनि विभिन्न प्रतियोगिता हुँदै छन्। नेपालगन्जमा बिहान ९ बजेदेखि पौडी प्रतियोगिता सुरु हुनेछ भने बर्दियामा टेनिसका खेल सञ्चालन हुनेछन्। पश्चिम रुकुमको चौरजहारीमा बिहान ८ बजेदेखि शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछ।












