काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच हुने भनिएको पार्टी एकता अन्ततः भाँडिएको छ। पुस १४ गतेदेखि सुरु भएको एकताको पहल विभिन्न चरणका छलफलपछि पनि निष्कर्षमा पुग्न नसकेपछि दुवै दल आ–आफ्नो बाटो लाग्ने अवस्थामा पुगेका छन्।

रास्वपाले एकता टुट्नुको मुख्य कारण उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले राखेका अडानहरू रहेको दाबी गरेको छ। रास्वपाका नेताहरूका अनुसार कुलमान पक्षले प्रधानमन्त्रीसरहको हैसियत, वरिष्ठ उपसभापति पद, थप महामन्त्री र आफ्ना सबै केन्द्रीय सदस्यलाई रास्वपामा समायोजन गर्नुपर्ने सर्त राखेपछि सहमति असम्भव बनेको हो।

ADVERTISEMENT

रास्वपाका नेता गणेश पराजुलीले अधिकतम लचकता देखाउँदासमेत उज्यालो नेपालसँग सहकार्य सम्भव नभएको बताएका छन्। उनका अनुसार उज्यालो नेपाल पक्षले आफूहरूले स्वीकार गर्दै आएको लोकतान्त्रिक सिद्धान्तमै पुनर्विचार गरेर नयाँ राजनीतिक सिद्धान्त बनाउनुपर्ने माग गरेकाले रास्वपा पछि हटेको हो।

रास्वपाका प्रवक्ता मनिष झाले पनि पदाधिकारी संरचना, वरिष्ठ उपसभापति र महामन्त्री पदको बाँडफाँडमा सहमति हुन नसक्दा एकता प्रक्रिया टुटेको स्पष्ट पारे। समानुपातिक उम्मेदवार छनोट र बन्दसूचीको प्राथमिकतामा उज्यालो नेपाल पक्षको अडानले पनि विवाद बढाएको रास्वपाको भनाइ छ।

ADVERTISEMENT

यसैबीच, एकता प्रयास असफल भएपछि उज्यालो नेपाल पार्टीले केन्द्रीय समिति बैठकमार्फत कुलमान घिसिङलाई अध्यक्ष घोषणा गरेको छ। दुवै पक्षले विगतमा भएका सहमति र समझदारीबाट पछि हटेपछि सहकार्य औपचारिक रूपमा टुङ्गिएको जनाएका छन्।

एकताको आधारका रूपमा गरिएको सातबुँदे सहमतिमै नेतृत्व र शक्ति बाँडफाँड अस्पष्ट रहँदा उज्यालो नेपालभित्र असन्तुष्टि सुरुदेखि नै देखिएको थियो। पार्टीको नाम, झण्डा र चुनाव चिन्ह रास्वपाकै रहने व्यवस्था तथा निर्णय प्रक्रियामा सीमित भूमिकाले उज्यालो नेपाललाई बराबरी साझेदारभन्दा विलय हुने समूहको रूपमा प्रस्तुत गरेको गुनासो उनीहरूको थियो।

नयाँ राजनीतिक संस्कार र पुराना दलहरूको आलोचना गर्दै आएका यी दुई शक्तिबीचकै एकता पद, हैसियत र प्रभावको विवादमा टुट्नुले नेपालमा वैकल्पिक राजनीति निर्माण कति चुनौतीपूर्ण छ भन्ने फेरि देखाएको छ। यो घटनाले ‘नयाँ शक्ति’ भनिएका दलहरूले साँच्चै नयाँ अभ्यास गर्न सकेका छन् कि छैनन् भन्ने गम्भीर प्रश्न पनि उठाएको छ।