काठमाडौँ । नेपालमा बुधबार आएको विनाशकारी बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न मुलुकले दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन्। विपद्मा परी १५७ जनाको मृत्यु भएको तथा सयौँ पर्यटक बेपत्ता भएको घटनाप्रति अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई सम्भावित सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताएका छन्। संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले नेपाल सरकारसँग सम्पर्कमा रहेको र आवश्यक सहयोगका लागि तयार रहेको जनाएको छ। युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि नेपालका लागि थप युरोपेली सहायता परिचालन गर्न ईयू तयार रहेको बताएकी छन्।
बेलायतका विदेश सचिव एड मिलिब्यान्डले बेलायती कन्सुलर टोलीले आपत्कालीन उद्धार तथा प्रभावित नागरिकको सहयोगका लागि स्थानीय अधिकारीसँग समन्वय गरिरहेको जानकारी दिएका छन्। बेलायतका ३३ नागरिकसमेत बेपत्ता रहेको विवरणपछि बेलायती पक्षले उद्धार प्रयासलाई प्राथमिकता दिएको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि विपद्को यस घडीमा नेपाललाई सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्। नेपालका लागि इजरायली राजदूत शामुलिक एरी बासले रसुवालगायत विभिन्न क्षेत्रमा भएको विनाशप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनताको साथमा आफ्नो सद्भाव र प्रार्थना रहेको बताएका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि विपद्मा ज्यान गुमाउनेका परिवार तथा प्रभावितप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा पाकिस्तान नेपालसँगै रहेको बताएका छन्।






