काठमाडौं नेपाली सेना ले मनसुनजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विस्तृत पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । विगतका वर्षमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभवका आधारमा यस वर्ष थप समन्वयात्मक र योजनाबद्ध ढंगले तयारी गरिएको सेनाले जनाएको हो ।

सेनाका अनुसार विपद्को समयमा तत्काल परिचालन गर्न सकिने गरी जिल्लास्थित गण तथा गुल्महरूमा आवश्यक सङ्ख्यामा फौज तयारी अवस्थामा राखिएको छ । साथै, सातै प्रदेशका पृतनामा उद्धार उपकरणसहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनाथ गरिएको छ, जसले बाढी, पहिरो तथा अन्य विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार कार्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT

दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पु¥याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई समेत तयारी अवस्थामा राखेको छ । काठमाडौंबाहेक सुर्खेत र इटहरीमा एक–एक वटा हेलिकप्टर ‘स्ट्यान्डबाई’ राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मौसम पूर्वानुमानका आधारमा थप दुई वटा हवाई साधनलाई आवश्यक क्षेत्रमा पूर्वतैनाथ गर्ने योजना पनि रहेको सेनाले जानकारी दिएको छ ।

बाढी तथा पहिरोका कारण राजमार्ग अवरुद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न धादिङको गजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा बेलिब्रिज तयारी अवस्थामा राखिएको छ । साथै, गौचरस्थित ब्यारेकमा तीन वटा द्रुत यान्त्रिक पुलसमेत तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।

ADVERTISEMENT

विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोलीलाई गौचर ब्यारेकमा तयारी अवस्थामा राखिएको छ । आवश्यक परेमा उक्त टोलीलाई हवाई साधनमार्फत तुरुन्त प्रभावित क्षेत्रमा परिचालन गर्न सकिने व्यवस्था गरिएको छ ।

मनसुनजन्य विपद्का समयमा घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक जनशक्ति, उपकरण तथा औषधि तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ । साथै, प्रत्येक पृतनामा खाद्यान्न, औषधि तथा राहत सामग्री व्यवस्थापन गरिएको छ ।

सैनिक इन्जिनियरिङ विभागले पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मतका लागि ‘हेभी इक्विप्मेन्ट’ र अपरेटरसहितका सवारी साधनसमेत तयारी अवस्थामा राखेको जनाएको छ ।

सेनाले विपद् व्यवस्थापन केवल एउटै निकायको प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै स्थानीय समुदाय, सरकारी निकाय तथा गैरसरकारी संस्थासँगको समन्वयलाई विशेष प्राथमिकता दिएको जनाएको छ । यसैक्रममा गत वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा ‘अभ्यास हातेमालो’ नामक केन्द्रीय तहको एकीकृत अभ्यास सञ्चालन गरिएको थियो ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेत का अनुसार मनसुनजन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न आवश्यकताअनुसार सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा नेपाली सेना प्रतिबद्ध रहेको छ ।