काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने हल्ला फैलाएर सरकारले राजनीतिक विषयान्तर गर्न खोजेको निष्कर्ष निकालेको छ।
बिहीबार सानेपामा बसेको पार्टी पदाधिकारी बैठकले सभापति थापालाई पक्राउ गर्ने चर्चा सरकारको ध्यान अन्य मुद्दाबाट मोड्ने र प्रतिपक्षलाई तर्साउने प्रयास भएको ठहर गरेको हो।
बैठकपछि महामन्त्री प्रदीप पौडेलले यस्ता हल्लाबाट कांग्रेस नतर्सिने बताए। उनले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संविधानको रक्षा र कानुनी राज्यको पक्षमा पार्टी दृढतापूर्वक उभिने स्पष्ट पारे।
सरकारका गतिविधिमाथि प्रश्न उठाउन कांग्रेस पछि नहट्ने बताउँदै उनले संविधान र कानुनी राज्यविरुद्ध हुने गतिविधिको विरोध अझ सशक्त बनाउने बताए।
बैठकमा पछिल्लो समय सार्वजनिक भएका विभिन्न प्रकरणलाई संसदीय समितिमा उठाउने विषयमा पनि छलफल भएको छ। त्यसका लागि संसदीय दलका नेता तथा सम्बन्धित विषयगत समितिका सांसदहरूसँग समन्वय गर्ने निर्णय गरिएको छ।
त्यस्तै, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका नाममा संकलन भएको सहयोग रकमको विवरण सरकारसँग माग्ने निर्णय भएको छ। सांसद मोहन आचार्यको संयोजकत्वमा गठित समितिमार्फत राहत र सहयोगको विषयमा थप काम गर्ने कांग्रेसले जनाएको छ।
जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा बाढीपहिरो र जलवायु परिवर्तनका विषयमा सरकारले स्पष्ट धारणा राख्नुपर्ने कांग्रेसको भनाइ छ। यस विषयमा सभापति थापाको उपस्थितिमा शुक्रबार थप छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी, सातै प्रदेशमा पार्टीको संगठनात्मक अवस्था, जिल्ला तथा प्रदेश अधिवेशन र महाधिवेशनपछिका गतिविधिबारे जानकारी संकलन गर्न सहमहामन्त्रीहरूलाई जिम्मेवारी तोकिएको छ।










