काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएको चार दिनमै ५१ लाख ८७ हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। कात्तिक १५ गतेदेखि सञ्चालनमा आएको सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङमार्गबाट दैनिक करिब ८ हजार सवारीसाधन आवतजावत गरिरहेका छन्। आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार सञ्चालनको पहिलो दिन करिब ७ हजार ५०० सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। त्यसपछि दैनिक सवारीसाधनको संख्या बढेर ८ हजारको हाराहारीमा पुगेको हो।
सुरुङमार्ग सञ्चालनको पहिलो दिन ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको थियो। दोस्रो दिन १२ लाख ७१ हजार, तेस्रो दिन १३ लाख १५ हजार र चौथो दिन १४ लाख ३१ हजार रुपैयाँ संकलन भएको आयोजनाले जनाएको छ।
पाँचौँ दिनको संकलन विवरण भने राति १२ बजेपछि मात्रै अद्यावधिक हुने भएकाले त्यसको रकम तत्काल यकिन भइनसकेको पन्थीले बताए।
टोल दस्तुर संकलन सुरु भएपछि केही सवारीसाधनका कारण आवतजावतमा अवरोधसमेत देखिएको छ। विशेषगरी भारतीय नम्बर प्लेटका केही सवारीसाधनले तत्काल शुल्क तिर्न रकम नभएको बताउने र पछि रकमको व्यवस्था गरेर भुक्तानी गर्न खोज्दा केही समय लाग्ने गरेको आयोजनाको भनाइ छ। यसले कहिलेकाहीँ सवारीसाधनको लाम लाग्ने र जाम हुने समस्या निम्त्याएको छ।
यद्यपि, अधिकांश चालकले टोल दस्तुरबारे जानकारी पाएपछि आवश्यक रकम पहिले नै तयारी अवस्थामा राख्ने गरेकाले शुल्क संकलन सहज हुँदै गएको पन्थीले बताए। पछिल्ला दिनमा सुरुङमार्ग प्रवेश गर्ने स्थानमा सवारीसाधनको लाम पनि घट्दै गएको आयोजनाको दाबी छ।
टोल दस्तुर भुक्तानीलाई छिटो र सहज बनाउन आयोजनाले विद्युतीय भुक्तानी प्रणाली एनट्यागको प्रयोग बढाउने तयारी गरेको छ। यसका लागि एनट्याग वितरण सुरु भइसकेको पन्थीले जानकारी दिए।
उनका अनुसार कुमारी बैंकले सातवटै प्रदेशमा एनट्याग पठाइसकेको छ। त्यस्तै, ई–सेवाका आधिकारिक विक्रेतामार्फत पनि एनट्याग उपलब्ध गराउने व्यवस्था गरिएको छ।
नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने सवारीचालकले एनट्याग प्रयोग गरेमा टोल शुल्क भुक्तानीमा लाग्ने समय घट्ने र सवारीसाधनको लाम तथा जाम कम हुने आयोजनाको अपेक्षा छ। पन्थीले दैनिक सुरुङमार्ग प्रयोग गर्ने चालकलाई एनट्याग लिन आग्रह गरेका छन्।










