काठमाडौं । नबिल बैंक लिमिटेडले ग्राहकलाई डिजिटल माध्यमबाटै क्रेडिट कार्ड उपलब्ध गराउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गते बिहीबारदेखि सुरु भएको यो सेवा बैंकको एनबैंक (nBank) एपमार्फत प्राप्त गर्न सकिनेछ।

बैंकका अनुसार ग्राहकले एनबैंक एपको होमपेजमा रहेको ‘अप्लाइ नाउ’ विकल्पमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्। परम्परागत क्रेडिट कार्डका लागि आवश्यक कागजी प्रक्रिया र औपचारिकता घटाउँदै डिजिटल माध्यमबाटै कार्ड प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

ADVERTISEMENT

पूर्ण रूपमा डिजिटल स्वरूपमा उपलब्ध यो कार्ड दैनिक डिजिटल कारोबारमा प्रयोग गर्न सकिनेछ। बैंकले आफ्नै तथ्यांकमा आधारित विश्लेषण प्रणालीमार्फत योग्य ग्राहकलाई पूर्वस्वीकृति दिएको जनाएको छ। योग्य ग्राहकले एपको होमपेजमा स्वचालित रूपमा ‘अप्लाइ नाउ’ विकल्प देख्न सक्नेछन्।

ADVERTISEMENT

भर्चुअल क्रेडिट कार्डमार्फत फोनपे मर्चेन्ट क्यूआर प्रयोग गरी भुक्तानी गर्न सकिनेछ। यसका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो। यो सहकार्यसँगै ग्राहकले फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानमा कार्ड प्रयोग गरी कारोबार गर्न सक्नेछन्।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहककेन्द्रित बैंकिङ सेवा र नवप्रवर्तनप्रतिको प्रतिबद्धता दोहोर्‍याए।

ADVERTISEMENT

उनले भर्चुअल क्रेडिट कार्डको सुरुवातले बैंकको डिजिटल रूपान्तरणलाई तीव्रता दिने र ग्राहकको बदलिँदो आवश्यकता तथा अपेक्षाअनुसार वित्तीय सेवा उपलब्ध गराउने प्रयासलाई थप बलियो बनाउने बताए।

“ग्राहकको सहजता नै हाम्रो प्राथमिकता हो। डिजिटल युगको आवश्यकताअनुसार ग्राहकलाई सकेसम्म बैंक शाखामै पुग्न नपरी बैंकिङ सेवा उपलब्ध गराउने दिशामा हामी निरन्तर काम गरिरहेका छौँ। नबिल भर्चुअल क्रेडिट कार्ड सोही प्रयासको एक महत्वपूर्ण हिस्सा हो,” ज्ञवालीले भने।

नबिल बैंकले प्रविधिमैत्री तथा ग्राहकमुखी वित्तीय समाधान विकास गर्दै डिजिटल बैंकिङ सेवा विस्तार गरिरहेको जनाएको छ। बैंकका अनुसार देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा दिँदै आएको नबिलले २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउने उद्देश्यले एनबैंक एप सञ्चालनमा ल्याएको हो। आगामी दिनमा पनि ग्राहकको वित्तीय पहुँच, सुविधा र अनुभव सुधार गर्ने नवीनतम डिजिटल सेवा विस्तार गर्दै जाने बैंकले जनाएको छ।