काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ललितपुरको बालकुमारीस्थित एथलीट ल्यान्ड प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
यससम्बन्धी समझदारीपत्रमा बुधबार बैंक र एथलीट ल्यान्डबीच हस्ताक्षर भएको हो। समझदारीअनुसार बैंकका कार्डधारक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले एथलीट ल्यान्डमा खरिद गर्दा विशेष छुट पाउनेछन्।
बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई लाभ पुर्याउनुका साथै नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ। बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ। छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।
सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो। बैंकले युवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सर लक्षित ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको छ।
त्यस्तै, मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा तथा अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ।
बैंकका अनुसार हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजार ग्राहकलाई सेवा प्रदान गरिँदै आएको छ।








