सुर्खेत । कुनै समय व्यवस्थित खेलमैदान र पूर्वाधारको अभाव झेल्दै आएको कर्णाली प्रदेशले अहिले आधुनिक खेल परिसर पाएको छ। वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रंगशाला कर्णालीको खेलकुद पहिचान र सम्भावनाको नयाँ आधार बनेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थलका रूपमा तयार गरिएको यो रंगशालाले कर्णालीलाई राष्ट्रिय खेलकुदको महत्वपूर्ण गन्तव्य बनाउने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री मंगलबहादुर शाहीका अनुसार आधुनिक खेल पूर्वाधारसहित निर्माण भएको रंगशालाले प्रदेशको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
करिब १० हजार दर्शक अट्ने क्षमताको प्रदेश रंगशाला प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिएको हो। यहाँ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान, आठ लेनको एथलेटिक्स ट्र्याक, पौडी पोखरी र बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएका छन्।
त्यस्तै खेलाडी, रेफ्री, सञ्चारकर्मी तथा स्वास्थ्य सेवाका लागि आवश्यक कक्षसमेत तयार पारिएका छन्। एउटै परिसरमा विभिन्न खेलका पूर्वाधार उपलब्ध हुनुले रंगशालालाई बहुउपयोगी खेल केन्द्रका रूपमा विकास गरेको छ।

करिब एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण भएको यो रंगशाला कर्णालीको खेलकुद पूर्वाधारमा ठूलो लगानी हो। यसले फुटबल र एथलेटिक्ससँगै पौडी, भलिबल, बास्केटबल तथा ह्यान्डबलजस्ता खेलको अभ्यास र प्रतियोगिता सञ्चालन गर्ने आधार तयार गरेको छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन तथा समापन समारोह यही रंगशालामा आयोजना गर्ने तयारी गरिएको छ। प्रतियोगिताको तयारीकै क्रममा सोमबार रंगशालाबाट दशौँ राष्ट्रिय खेलकुदको ३० दिने काउन्टडाउनसमेत सुरु गरिएको थियो।
रंगशाला निर्माणले कर्णालीका खेलाडीलाई आफ्नै प्रदेशमा आधुनिक पूर्वाधारमा अभ्यास गर्ने अवसर दिएको छ। यसअघि व्यवस्थित मैदान र प्रशिक्षण सुविधाको अभाव झेल्दै आएका खेलाडीले अब नियमित अभ्यास तथा प्रतिस्पर्धाका लागि थप अवसर पाउने अपेक्षा गरिएको छ।
यसको सम्भावित प्रभाव खेलकुदमा मात्र सीमित रहने छैन। राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुँदा देशका विभिन्न भागबाट खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र दर्शक सुर्खेत पुग्नेछन्। त्यसले होटल, यातायात, व्यापार तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाउन सक्ने अपेक्षा व्यवसायीहरूको छ।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावना बोकेको कर्णालीमा आधुनिक खेल पूर्वाधार थपिनुले खेलकुद पर्यटनको अवसरसमेत सिर्जना गरेको छ। प्रतियोगिताका लागि आउने आगन्तुकलाई प्रदेशका अन्य पर्यटकीय गन्तव्यसम्म जोड्न सके यसको आर्थिक लाभ अझ विस्तार हुन सक्छ।

तर प्रदेश रंगशालाको वास्तविक उपलब्धि प्रतियोगिता सम्पन्न भएपछि मात्रै मापन हुनेछ। यसलाई नियमित प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता र नयाँ खेलाडी उत्पादनको केन्द्रका रूपमा सञ्चालन गर्न सके मात्र ठूलो लगानीको दीर्घकालीन प्रतिफल प्राप्त हुने सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले बताए।
दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि प्रतियोगिता आयोजना गर्ने अवसर मात्र होइन, आफ्नो खेल क्षमता, पूर्वाधार र सम्भावना राष्ट्रियस्तरमा चिनाउने अवसर पनि हो। प्रदेश रंगशाला त्यसैको महत्वपूर्ण प्रतीक बनेको छ।









