किस्पाङ। नुवाकोटको किस्पाङ गाउँपालिकामा सञ्चालनमा रहेको किस्पाङ बहुप्राविधिक शिक्षालय सातै प्रदेशका विद्यार्थीको आकर्षण केन्द्र बनेको छ। पछिल्ला तीन वर्षदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन लिएर सुलभ शुल्कमा स्वास्थ्यसम्बन्धी प्राविधिक शिक्षा सञ्चालन गरेपछि देशभरका विद्यार्थी यहाँ अध्ययनका लागि आउने गरेका छन्।

गाउँपालिकाले सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालन गर्दै प्रति विद्यार्थी रु १ लाख ९५ हजार शुल्क लिँदै आएको छ। २०८० सालमा स्थापना गरिएको शिक्षालयले पहिलो ब्याचमा ढिलाइका कारण डिप्लोमा इन फार्मेसी मात्र सञ्चालन गरेको थियो भने हाल दोस्रो र तेस्रो ब्याचमा दुवै कार्यक्रम पूर्ण कोटामा सञ्चालन भइरहेको छ।

यो शिक्षालयमा देशका सातै प्रदेशका ३१ जिल्लाका विद्यार्थी अध्ययनरत छन्। नुवाकोटका करिब ३० प्रतिशत विद्यार्थीबाहेक बाँकी विद्यार्थी बाहिरी जिल्लाबाट आएका हुन्। अधिकांश विद्यार्थी होस्टेलमा बस्दै अध्ययन गरिरहेका छन् भने केहीले बाहिर डेरा लिएर पढिरहेका छन्।

सङ्खुवासभा, सल्यान, महोत्तरी, सर्लाही, रौतहट, बाजुरा, सुर्खेत, अछाम, कैलाली लगायत जिल्लाका विद्यार्थी यहाँ अध्ययनरत छन्। शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूले फरक–फरक जिल्लाबाट आए पनि एकै ठाउँमा बसेर पढ्न पाउँदा सांस्कृतिक तथा सामाजिक अनुभव बढेको बताएका छन्।

यहाँ पिता–छोरी दुवै जना एउटै शिक्षालयमा अध्ययनरत रहेका उदाहरणसमेत देखिएको छ। डिल्ली ढकाल र उनकी छोरी सलिना ढकाल फार्मेसी विषयमा अध्ययनरत छन्। शिक्षालयका विद्यार्थीहरूले ग्रामीण क्षेत्रमा यस्तो स्तरको शिक्षा उपलब्ध हुनु सकारात्मक भएको बताएका छन्।

शिक्षालयका प्रमुख विनोद न्यौपानेका अनुसार यहाँ सातै प्रदेशका विद्यार्थीको प्रतिनिधित्व रहेको छ। सामान्य चिकित्सा र फार्मेसी दुवै विषयमा ४०–४० कोटा रहेका छन् भने केही विद्यार्थी छात्रवृत्तिमा अध्ययनरत छन्। अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यासका लागि अस्पताल तथा औषधि उद्योगमा पठाइने व्यवस्था गरिएको छ।

शिक्षालयमा पुस्तकालय, आधुनिक प्रयोगशाला, कम्प्युटर ल्याब तथा आवश्यक उपकरण उपलब्ध छन्। साथै, होस्टेलमा अर्गानिक तरकारी प्रयोग गरी विद्यार्थीलाई ग्रामीण जीवनशैलीको अनुभव दिइने गरिएको छ।

गाउँपालिकाका अध्यक्ष वीरवल तामाङले देशका ३१ जिल्लाका विद्यार्थी अध्ययनरत हुनु शिक्षालयका लागि ठूलो उपलब्धि भएको बताए। उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले नियमित भर्ना र सकारात्मक प्रतिक्रिया आएकोले शिक्षालयको भविष्य उज्ज्वल रहेको बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाका अनुसार भवन निर्माण र पूर्वाधार विकासका लागि बजेट विनियोजन भई काम भइरहेको छ। शिक्षालयलाई नमुना प्राविधिक शिक्षालयका रूपमा विकास गर्ने योजना रहेको छ।

यहाँ सात जना पूर्णकालीन र १३ जना अल्पकालीन शिक्षकसहित दक्ष जनशक्तिबाट अध्यापन भइरहेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत अध्ययन गरेका चिकित्सक र प्राविधिकहरू पनि शिक्षणमा संलग्न छन्।