काठमाडौं । सूचना तथा सञ्चारमन्त्री तथा नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग छलफल गर्दै प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ।
सञ्चार मन्त्रालयमा आयोजित छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वातावरण विभाग प्रमुख सरिता राई, सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर रुपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो। छलफलमा बञ्चरेडाँडा ल्याण्डफिल साइटको वर्तमान अवस्था, स्थानीयवासीले भोगिरहेका समस्या तथा दीर्घकालीन व्यवस्थापनका उपायबारे समीक्षा गरिएको थियो।
छलफलपछि सञ्चारमन्त्री तिमिल्सिनाले फोहोर व्यवस्थापनको नियमित तथा छड्के अनुगमन गर्न, स्थानीयवासीका गुनासाको तत्काल सुनुवाइ गर्न, बञ्चरेडाँडासम्म पुग्ने सडक स्तरोन्नति गर्न तथा वैज्ञानिक ढङ्गबाट फोहोर व्यवस्थापन सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
स्थानीयवासीले बञ्चरेडाँडा पुग्ने सडक जीर्ण भएको, फोहोरबाट दुर्गन्ध फैलिएको, फोहोर बोकेका सवारीसाधन नछोपी सञ्चालन हुने, बाटोमै फोहोर खसालिने, विसर्जनपछि सवारीसाधन नधोई उपत्यकातर्फ फर्काइने तथा फोहोरलाई पर्याप्त मात्रामा माटोले नछोपिने जस्ता समस्या उठाउँदै आएका छन्। ती गुनासाको समाधानका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको मन्त्री तिमिल्सिनाले बताउनुभयो।
उहाँले बञ्चरेडाँडा पुग्ने सडक तत्काल निर्माणको काम अघि बढाउन आग्रह गर्दै आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय गर्न निर्देशन दिनुभयो। “स्थानीयवासीले लामो समयदेखि सडक र वातावरणीय समस्याको मार खेपिरहेका छन्। उनीहरूलाई राहत पुग्ने गरी पूर्वाधार निर्माण र व्यवस्थापन सुधारलाई प्राथमिकता दिनुपर्छ,” उहाँले भन्नुभयो।
बैठकमा काठमाडौं महानगरपालिकाबाहेक अन्य २० स्थानीय तहबाट पनि बञ्चरेडाँडामा फोहोर विसर्जन हुने भए पनि व्यवस्थापनको जिम्मेवारीमा ती स्थानीय तहको प्रभावकारी सहभागिता हुन नसकेको विषय पनि उठाइएको थियो। हाल सञ्चालन तथा आर्थिक भारको मुख्य जिम्मेवारी काठमाडौं महानगरपालिकाले व्यहोर्दै आएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले दीर्घकालीन समाधानका लागि फोहोर संकलन केन्द्रको संख्या बढाउने, स्रोतमै फोहोर वर्गीकरणलाई प्रभावकारी बनाउने र ग्रेडिङ प्रणाली विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिनुभयो। हाल बञ्चरेडाँडामा काठमाडौं उपत्यकासहित २१ स्थानीय तहबाट दैनिक औसत २०० ट्रक फोहोर विसर्जन हुँदै आएको छ। छलफलले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन सबै स्थानीय तहको साझा जिम्मेवारी र प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ।





