काठमाडौं । बाढी तथा विपद् प्रभावित नागरिकलाई समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आर्या फार्माल्याब र चितवन मेडिकल कलेजको सहकार्यमा नुवाकोटमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म नुवाकोटका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको शिविरबाट ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्रदान गरिएको थियो।

त्यस्तै, शिविरमा १२० जनाको अल्ट्रासाउन्ड परीक्षण गरिएको थियो। स्थानीय तथा विपद् प्रभावित समुदायका नागरिकलाई आवश्यक स्वास्थ्य परामर्श, परीक्षण तथा उपचारसम्बन्धी सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ।

थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्थासमेत गरिएको थियो। आर्या फार्माल्याबले विपद्को कठिन समयमा प्रभावित नागरिकको स्वास्थ्य तथा पुनःस्थापनामा सहयोग पुर्याउने आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी दिनमा पनि आवश्यक सहयोग तथा स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

यसअघि आर्या फार्माल्याबले विपद् प्रभावितका लागि रु ८२ लाखभन्दा बढी मूल्यका औषधिजन्य सामग्री नेपाल सरकारलाई सहयोगस्वरूप हस्तान्तरण गरेको थियो।








